२४ माघ, पर्वत । वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासीले फागुन महिनादेखि लिफ्ट प्रणालीबाट पानी पाउने भएका छन् ।
हिउँद वर्षा नै पानीको चरम अभाव झेल्दै आएका ठूलीपोखरीको माथिल्लो भागका बासिन्दाले घर घरमै धारा पाउने भएपछि उत्साहित बनेका छन् । गाविसको ३,४,८ र ९ नम्बर वडाका उपभोक्ताले ५ सय मिटर तल रहेको मुहानबाट पानी पाउने भएपछि उत्साहित हुँदै श्रमदान गर्न जुटेकाछन् ।
उपभोक्ताको सक्रियताका कारण हालसम्म आयोजनाका ९५ प्रतिशत काम सम्पन्न भईसकेको छ । जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय पर्वतको सहयोगमा ठूलीपोखरी लिफ्ट खानेपानी आयोजना संचालन भएपछि उपभोक्ताहरुमा पानी पाउने आशा जागेकोसँगै उत्साहित बनेर काममा जुटेका हुन् । गाविसका माथिल्लो भागमा पर्ने ३ वटा वडाका करिब १ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने भएका हुन् ।
आयोजना गत केही महिना अगाडी नै सक्ने गरि तयारी भएको भएपनि सबै प्राविधिक काम नसकिएका कारण केही ढिला भएको र आगामी महिना भने पानी घर घरमा पुग्ने गरि काम भईरहेको जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय पर्वतका प्रमुख प्रेम प्रकाश डोटेलले जानकारी दिनुभयो ।
पानीको पाईप लाईन खन्ने काम सकिएकाले अब केही दिनमै घर घरमा पानी पुग्ने उहाँले बताउनुभयो । आयोजनाका अधिकांश काम सकिएकाले बाँकी रहेको काम आगामी १ महिनामा सक्नेगरि द्रुत गतिमा काम भईरहेको निर्माण कम्पनीका प्रमुख गिरीजा तिवारीले जानकारी दिनुभयो ।
हामीले गत मंशिर महिनामा सक्ने काम गरेको भएपनि विद्युतिय सामाग्री समयमा नआउँदा केही ढिला भएको थियो । आयोजनाको मुख्य रिजर्भ ट्यांकी बाटुलेचौरमा पानी खसीसकेको उहाँले बताउनुभयो । बाटुलेचौर सम्मको सबै काम सम्पन्न भएको छ अव प्रशारण गर्ने पाईप लाईन सकिएपछि सबै घर घरमा पानी पुग्ने तिवारीले भन्नुभयो ।
आयोजनाका लागि जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयको १ करोड ४६ लाख रुपीयाँ खर्च हुने भएको हो । ५ सय ६० मिटर तल रहेको पानीलाई बिजुली प्रयोग गरि स्थानीय बाटुलेचौरमा रहेको ट्यांकीमार्फत घरघरमा वितरण गरिने भएको हो । गाविसको माथिल्लो भागमा रहेका तीन सय घरधुरीले वर्षामा आकासे पानी र हिउँदमा १ घण्टासम्म लगाएर एक गाग्री खानेपानीको जोहो गर्नुपर्ने अवस्था रहेको थियो । इटप अनलाईनबाट





प्रतिकृया दिनुहोस्