Print

एमाले बागलुङको जिल्ला अधिवेशन माघ ९ र १० गते, अध्यक्षको जिम्मेवारी विष्णु भुसाललाई

१७ कार्तिक, गल्कोट । नेकपा (एमाले) बागलुङको ११औँ जिल्ला अधिवेशन आगामी माघ ९ र १० गते हुने भएको छ। गल्कोटको हटियामा सोमबार सम्पन्न जिल्ला कमिटीको पाँचौँ पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो।

बैठकले मंसिर पहिलो साताभित्र सबै पालिका कमिटीको बैठक सम्पन्न गर्ने, मंसिर २६ गते वडा कमिटीको अधिवेशन गर्ने र पुस ४ गते सबै पालिका कमिटीको अधिवेशन एकैसाथ गर्ने निर्णय गरेको छ।

बैठकले जिल्ला कमिटीको रिक्त अध्यक्ष पदमा उपाध्यक्ष विष्णु भुसाललाई जिम्मेवारी दिएको छ।

बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मनकुमारी केसीले कम्युनिष्ट आन्दोलनको इतिहासबाट शिक्षा लिँदै समाजवादको आधार निर्माणका लागि पार्टी पंक्ति एकजुट हुनुपर्ने बताइन्। गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले पार्टीको संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारमा जोड दिए।

भुसालको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्यहरू गोविन्द नेपाली, डा. सूर्य पाठक, सावित्रा राना, मञ्जु शर्मा चालिसेलगायतको सहभागिता रहेको थियो। बैठकमा उपसचिव धनबहादुर परियारले स्वागत मन्तव्य राखेका थिए भने सचिव गणेश थापाले सञ्चालन गरेका थिए।