Print

अब बन्छ त भुरुङदी खोलामा पुल ?


२८ फागुन, पर्वत । एउटा देशको विकास हुन १ दशक लामो समय हो । विश्वका विकसित राष्ट्रले देशको काचुली फेरेको इतिहास लामो अवधिको छैन् । जापानले ३ दशकमा आफ्नो देशको विकासमा काचुली फे¥यो । चीनले ५ दशकको अवधिमा विश्वको धनी देश बन्यो । छिमेकी मुलुक भारतको लागि १ दशक अवधि भनेको विकासको रप्तारको लामो अवधि सावित भएको छ । नेपाल मात्र त्यस्तो देश हो, जहाँ ४० मिटर लामो मोटरेवलपुल निर्माण ९ बर्षसम्म पनि सम्पन्न भएको छैन् ।

२०७२ साल मंसीर ८ गते निर्माण कार्य शुरु भएको मोदी गाउँपालिका वडा न १ भुकदेउराली र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा न ८ जोड्ने भुरुङदीखोला मोटरेवल पुल अहिलेसम्म पनि निर्माण सम्पन्न भएको छैन् । भुकदेउरालीको रामधुवालीमा निर्माणधिन उक्त पुल तत्कालीन अवस्थामा निर्माण ब्यवसायीले ६ करोड १३ लाखमा निर्माण कार्यको लागि सम्झौता गरेका थिए । १ करोड ५० लाख रुपैंया कार्यालयबाट भुक्तानी लिएको निर्माण कम्पनीले निर्माणको काम वीच भागमै छोडेका थिए । निर्माण ब्यवसायीको चरम लापरबाहीका कारण बर्षेनी बर्षातको समयमा सास्ती बेहोरेहेका भुकदेउरलीबासी अहिले पनि पुल बन्नेमा भने चिन्तित छन् ।

२९ महिनामा सम्पन्न गर्नुपर्ने पुलको निर्माण कार्य ९ बर्षसम्म पनि सम्पन्न भएको छैन् । निर्माण कार्य सुचारु गराउनका लागि यस अघि विभिन्न जनप्रतिनिधिहरुले पटक पटक दबाव दिदै आए पनि पुलको निर्माण कार्यले गति लिएको थिएन । सञ्जीविनी निर्माण कम्पनीले पुलको निर्मार्ण कार्य गर्ने ठेक्का लिए पनि हालसम्म पनि पुलको निर्माण कार्य सम्पन्न भएको छैन् ।

सडक डिभिजन कार्यालय बागलुङले २०७२ सालमा ठेक्का सम्झौता गरेको उक्त आयोजना अहिले सडक डिभिजन कार्यालय पोखराले आयोजनाको निर्माण कार्यको जिम्मेवारी लिएको छ । कार्यालयले आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गराउनका लागि पहल गरीरहेको जनाएको छ । उता, निर्माण कार्य शुरु भएको उक्त आयोजनामा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सीना र प्रदेश सभा सदस्य भक्त कुँवरले आयोजनाको स्थगलत अनुगमन गरेका छन् ।

लामो समयसम्म निर्माण कार्य अवरुद्ध भएको आयोजनाको निर्माण कार्य समयमा नै सम्पन्न गर्न थप दबाब दिनुपरेको उनीहरुको भनाई छ । आयोजना सम्पन्न हुँदा भुकदेउराली पुग्नका लागि कास्कीको बिरेठाँटी हुँदै सहज रुपमा सवारी साधन चल्न सक्नेछन् । बर्षातको समयमा भुरुङदीखोलाको बेग बढि भएका कारण पनि उक्त अवधिमा सडकमा सवारी साधन चल्न सक्दैनन् ।

निर्माण शुरु भएको झण्डै १ दशक हुँदा पनि पुलको निर्माण कार्य सम्पन्न नहुँदा त्यसको प्रत्यक्ष मारमा स्थानीयबासी परेको मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने बताउँछन् । उनले निर्माण ब्यवसायी र सम्बन्धित कार्यालयलाई पटक पटक अनुरोध गरेपनि अझै पुलको निर्माण कार्य सम्पन्न भएको बताए । उता, कार्यालयले भने आगामी असार मसान्त अघि पुलको निर्माण कार्य सम्पन्न हुने दावी गरेको छ ।