२६ माघ, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न १ र कास्कीको अन्नपूर्ण गाउँपालिका जोड्ने भुरुङदीखोलामा विगत ५ बर्ष देखि निर्माणधिन मोटरेवल पुलको निर्माण कार्य अझै सकिएको छैन् । ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त स्थानमा मोटरेवल पुल निर्माण सम्पन्न हुन नसकेको हो । पुलको निर्माणको लागि पटक पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले मोटरेवल पुलको निर्माण कार्य अझै पनि सकेको छैन् ।
पुल निर्माण कार्य नसकिँदा बर्षातको रकममा भुक देउराली जाने सडकमा आगमन बन्द हुने गर्छ । यहि वीच पर्वतको रतीखोलामा निर्माण भएको रतीखोला मोटरेवल पुलको उद्धघाटनमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले आगामी असारसम्म पनि पुलको निर्माण कार्य सक्न चेतावनी दिएका छन् । उनले निर्माण ब्यवसायी मात्र नभइ कर्मचारी पनि ढिलासुस्तीको जिम्मेवार निकाय भएको तर्फ इंकित गर्दै पुलको अन्तिम म्याद असार समान्तसम्म पनि पुलको निर्माण कार्य नसकिए कर्मचारी पनि कारबाहीको भागी हुनुपर्ने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेवाङ, मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठ तथा महानिर्देशक गोगनबहादुर हमाल समेतको उपस्थितीमा अध्यक्ष तिमिल्सीनाले कर्मचारीलाई पनि कारबाही गर्न अनुरोध गरेका हुन् । तिमिल्सीनाकै पहलमा विगत ५ बर्ष अघि पुल केन्द्रिय आयोजनामा सुचिकृत भएको थियो । तर पुलको निर्माण कार्य आधा दशकसम्म पनि निर्माण हुन सकेको छैन् ।
पुल निर्माणको लागि पूर्व सांसद पदम गिरीले स्थलगत रुपमा निर्माण ब्यवसायीलाई लिखित कागज गराएको पनि २ बर्ष वित्न लाग्यो तर पुलले गति लिन सकेको छ्रैन् । मोदी १ भुकका स्थानीय भने पुल निर्माण नहुँदा आक्रोसित बनेका छन् । निर्माण ब्यवसायी राजेन्द्र श्रेष्ठले पटक पटक पुल निर्माण गर्ने प्रतिबद्धता जनाए पनि पुलको काम भने अझै पनि अघि बढ्न सकेको छैन् ।




