Print

विपत्तिमा परेकालाई सहयोग गर्न लायन्स क्लबको कुश्मामा गजल साँझ

१७ वैशाख, पर्वत । विपत्तिमा परेकालाई आर्थिक सहयोग र स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्नका लागि पर्वतको कुश्मामा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ ।

लायन्स क्लब अफ पर्वत र लायन्स क्लब अफ कुश्मा सिटिले पर्वत सदरमुकाम कुश्मा बजारमा गजल साँझ नामक सांस्कृतिक कार्यक्रमको आयोजना गरेका हुन ।

कुश्माको छमर्के स्थित होटल ब्लु एजल्समा आयोजना गरिएको उक्त गजल साँझमा संकलन भएको रकम सामाजिक क्षेत्रमा खर्च गरिने लायन्स क्लब अफ कुश्मा सिटिकी अध्यक्ष रिता केसी भण्डारीले जानकारी दिइन ।

भण्डारीका अनुसार सामाजिक सहयोग कोष निर्माण कार्य स्वरुप उक्त कार्यक्रम मार्फत संकलन भएको रकमले बर्षायाममा हुने बाढि र पहिरो पिडितहरुका लागि खर्च गरिनेछ ।

गजल साँझमा विनोद बाँनिया र अनुजा थापाले गजलहरु प्रस्तुत गरेका थिए । उनीहरुले आफ्नै आवाज र अन्य कलाकाहरुरहरुको आवाजका गीत तथा गजलहरु प्रस्तुत गरेका थिए ।

दर्शकहरुलाई मनोरञ्जनका साथै सामाजिक सेवामा सहयोगको प्रयास स्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ पर्वत मोदीकालीका अध्यक्ष राजन जोशीले जानकारी दिए ।