Print

”मुनाफा होइन दिर्घकालिन सेवा तर्फ ध्यान दिऔँ”

सन्तोष थापा (टिप्पणी)


नेपालकै नमुना प्रविधि प्रयोग गरेर निर्माण गरिएको कुश्मा बलेवा यान्त्रिक पुलले आज आफ्ना सफलताका ६ बर्ष पार गरेको छ । नीजि क्षेत्रको सक्रियतामा ग्रामीणबासीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै आज भन्दा ६ बर्ष अघि निर्माण भएको यान्त्रिकपुल बास्तावमा नै जनमानसको एउटा अत्याधुनिक सेवामुलक साधन भएको छ । यो खुशीको कुरा हो आज ६ बर्ष पार गरिरहँदा यान्त्रिक पुलले अनेकौँ दुःख कष्ट, व्यवधान भोग्नु प¥यो त्यो आफ्नै ठाउँमा छ तर यान्त्रिक पुल निर्माण भएर बेफाइदा अवश्य कसैलाई पनि गरेन ।

छरिएर रहेको पुँजीलाई संकलन गरेर ४ सय ६२ जना शेयर सदस्यहरुबाट रकम संकलन गरेर कालीगण्डकीको खोचमाथि निर्माण भएको यो पुल अवश्यनै पर्वत र बागलुङबासीहरुका लागि मात्रै होइन समग्र मुलुकका लागि एउटा पर्यटकीय गन्तव्य समेत बन्न सफल भएको छ । आज भन्दा ६ बर्ष अगाडिको अवस्थालाई फर्केर हेर्नेहो भने बास्तावमा बागलुङको बलेवा क्षेत्रका बासिन्दाले पाएको दुःख कष्ट कम्ती मर्माहित थिएन ।

पर्वतको कुश्माबजारलाई व्यापारिक क्षेत्र बनाएका यहाँका बान्सिदाहरु दैनिकजसो एक घण्टाको समय लगाएर कालीगण्डकी नदीको किनारबाट वारपार गर्दै त्यही कालीगण्डकी नदीले बनाएको गल्छीलाई छिचोल्नुपर्ने अवस्था थियो । अहिले पुल निर्माण भएपछि त्यहाँका बासिन्दा १० मिनेटमा वारपार गर्ने अवसर प्राप्त गरेका छन् । यो स्थानीयबासीहरुको भाग्यले जुटाएको अवसर हो । पर्वतको कुश्माबजारका नीजि क्षेत्रका व्यवसायी र बागलुङ बलेवा क्षेत्रका बासिन्दाहरु यसमा हातेमालो गरेर अघि नसरेको भए अवश्य पनि सफल हुने थिएन । निर्माण सम्पन्न भएसँगै लगानी कर्ताहरुले सन्तुष्टि प्राप्त गर्न सक्नु नै सफलताको अर्को पाटो हो ।

अहिले छैठौँ साधारणसभाबाट पनि करिव ९१ लाख अर्थात १८ प्रतिशत मुनाफा यान्त्रिक पुल कम्पनीले आफ्ना शेयर सदस्यहरुलाई वितरण गरेको छ । यसरी मुनाफा वितरण गर्दैमा यान्त्रिक पुल सफलता तर्फ उन्मुख छ भनेर भन्न भने कदापि मिल्दैन । भोलिका दिनहरुमा यान्त्रिक पुलको दिर्घकालिन सञ्चालनका लागि अनेकौँ चुनौतीहरु छन् ती चुनौतीहरुका विषयमा आजै देखि सञ्चालन पक्ष गम्भिर भएर लाग्नुपर्ने देखिएको छ ।

यसको दिर्घकालिन र दिगोपनाका लागि यान्त्रिक पुल सञ्चालक समितिले अन्य थप योजनाहरु अघि सारेमा मात्रै यान्त्रिक पुलको भविष्य सम्भव छ । भन्न खोज्नुको अर्थ यात्रुहरु वारपार गराउने मात्रै होइन प्रशस्तै जग्गा आफ्नो नाममा भएर पनि बलेवा क्षेत्रमा जग्गा अव्यववस्थित जस्तै बस्दै गएको छ । कम्पनीले त्यो जग्गालाई उपयोग गरेर अन्य कुनै योजनाहरु जस्तै होटल व्यवसाय, धार्मिक स्थल लगायतका यावत सम्भावनाहरुको खोजि गर्ने हो भने मात्रै यान्त्रिक पुलको दिगोपना प्रति हामी आशातित हुन सक्छौँ होइन भने केही समयको रहर अनि केही बर्ष पछि कहर हुन सक्छ यस तर्फ सवैले ध्यान दिऔँ ।

टिप्पणीकार पर्वतका सक्रिय पत्रकार हुन ।