११ भदौ, पर्वत । पर्वतको सदरमुकाम कुस्मादेखि छिमेकी जिल्ला बागलुङ्गको बलेवा जोड्ने कुस्मा– बलेवा यान्त्रिक तुईनले गएको आर्थिक बर्ष १८ प्रतिशत मुनाफा सेयर धनीलाई बितरण गर्ने भएको छ।
कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७३/०७४ मा ९० लाख ४७ हजार ३ सय ९४ रुपैया मुनाफा बितरण गर्न लागेको हो । लिमिटेडको शनिवार सम्पन्न छैटौ साधारणसभाले यस वर्ष १८ प्रतिशत मुनाफा वितरण गर्न स्विकृती दिएको छ ।
साधारणसभाले स्विकृती दिएपछि ९० करोड ४७ हजार मुनाफा बितरण गर्ने लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘यस बर्ष लगानीकर्तालाई १८ प्रतिशत मुनाफा बितरण गर्न साधारणसभाबाट स्विकृत गरिएको छ’ उहाँले भन्नुभयो । यान्त्रिकपुलमा मुलुकका प्रतिष्ठित ब्याबसायी देखि कुस्मा र बलेवा क्षेत्रका ४ सय ६२ सर्वसाधारणले लगानी गरेका छन । गत बर्ष २० प्रतिशत मुनाफा बितरण गरेको थियो । यान्त्रिक पुल निर्माण सँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका साविकका १६ गाविसका बासिन्दाहरुसँग कुश्माबजारको व्यावसायिक सम्बन्ध गाँसिनुका साथै सदरमुकाम कुश्माबजारको व्यापारीक र पर्यटन विकासमा समेत महत्वपुर्ण भूमिका रहेको छ । पुलबाट दैनिकजसो ५ सय सर्वसाधरणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट बृद्ध, सुत्केरी, अपांगता भएका ब्यक्तिहरुले सबैभन्दा बढी फाइदा लिएको केदानरनाथ शर्माले जानकारी दिनुभयो ।
पुलमा यात्रा गर्ने बलेवा क्षेत्रका बासिन्दाहरुले एकतर्फ यात्रा गरेको रु ८५ रुपैया तिर्नुपर्ने भएको छ भने अन्यत्र क्षेत्रका यात्रुहरु बलेवा जानका लागि रु १ सय १४ रुपैया भुक्तानी गर्नुपर्ने हुन्छ । उक्त यान्त्रिकपुलको छैटौ साधारणसभामा बोल्ने बक्ताहरुले सर्वसाधरणले लगानी गरेर सार्वजनिक रुपमा सेवा दिएको यान्त्रिकपुल मुलुककै नमुना बनेको चर्चा गरेका थिए । यान्त्रिकपुलले सर्वसाधरणको लगानी अनुसार मुनाफाका साथै सामाजिक उत्तरदायित्व पुरा गरेको चर्चा गरेका थिए । उनीहरुले बलेवा क्षेत्रमा सुबिधा सम्पन्न रिर्सोट र भैरबस्थान सम्म केबलकार बिस्तार गर्न आवश्यक भएको कुरामा पनि जोड दिएका छन् ।
यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा निमिक्त प्रमुख जिल्ला अधिकारी ऋषि आचार्य, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ४ का अध्यक्ष सञ्जिबबहादुर कोइराला, प्रहरी नायब उपरिक्षक दिलिप घिमिरे, कम्पनीका इलेक्ट्रिकल इन्जिनियर अच्युत खतिवडा, नेपाल पत्रकार महासंघ पर्वतका निर्वतमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, नेपाली कांग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, शेयर सदस्यहरुको तर्फबाट मानकुमारी गिरीले शुभकामना दिनुभएको थियो । कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष रामकृष्ण कर्माचार्यले स्वागत गर्नुभएको थियो भने सञ्चालन केदारनाथ शर्माले गर्नुभएको थियो ।




