Print

नेतृत्वको निर्णय कुर्दा कुर्दै काँग्रेसका उम्मेदवारका आकांक्षीहरु दिनभर सडकमा अलपत्र

 १६ वैशाख, पर्वत । आसन्न स्थानिय तहको चुनावका लागि विभिन्न पदमा उम्मेदवारको आकांक्षा देखाएका नेपाली काँग्रेस पर्वतका नेताहरु नेतृत्वको निर्णय कुर्दाकुदै सडकमा अलपत्र परेका छन् ।

नेपाली काँग्रेस केन्द्रले वैशाख १४ सम्म टुंगो लगाईसक्न निर्देशन दिएको भएपनि पर्वतमा अझै टुंगो लगाउन सकिएको छैन । उम्मेदवारका लागि नामा टिपाएका र वार्डकमिटि तथा गाउँपालिकाबाट सिफारीस भएकाहरु दिनभर नेतृत्वको निर्णय कुर्दाकुर्दै हैरान परेका छन् । उनिहरु दिनभर पार्टी कार्यालय र नेताहरुको घरमा चाहारेका थिए ।

जिल्लाका पाँच गाउँपालिका र २ नगरपालिका मध्ये हालसम्म पैंयु गाउँपालिकाको सर्वसम्मत भएको छ भने अन्य छलफलकै चरणमा रहेको छ । सवैभन्दा बढि कुश्मा र फलेवास नगरपालिकाको उम्मेदवार छनौट पेचिलो बन्दै गएको छ ।

कुश्मा नगरपालिकामा रामचन्द्र जोशी र गंगाधर पौडेलबीच एकको पक्षमा निर्णय हुने भएको छ भने फलेवासमा गंगाधार तिवारी, गंगाराज शर्मा र राधा क्षेत्रीको चर्चा रहेको छ । अन्य गाउँपालिकाहरुको पनि टुुंगो लगाउने प्रयास भैरहेको जिल्ला सचिब विश्वप्रकाश प्रसाईले जानकारी दिए । उनका अनुसार दुवै क्षेत्रीय समितिको वैठक बसेको र सम्भवत १७ गते सम्म सवै ठाउँको टुंगो लाग्ने भएको छ ।