१५ वैशाख, पर्वत । अस्ट्रेलियामा बस्दै आएका नेपालीहरुको सहयोगमा पर्वतको एक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । अस्ट्रेलियामा बस्ने नेपालीहरुले गठन गरेको यूनिटिङ ह्यान्ट्स अस्ट्रेलिया नामक संस्थाको सहयोगमा कुश्मा नगरपालिका वडा न १४ मा रहेको शुभकल्याण निम्नमाध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
धोविनी मासिक पत्रिकाको ब्यवस्थापनमा शुक्रबार विद्यालयमा आयोजीत एक कार्यक्रमका वीच विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो । झण्डै ८० हजार रुपैंया बराबरका शैक्षिक सामाग्री उक्त अवसरमा २८ जना विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । सार्वजनिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार र गरिब विद्यार्थीहरुका लागि उक्त सामाग्री वितरण गरिएको हो । प्रति विद्यार्थी, झोला, ड्रेस, रुमाल, कलम, कपि लगाएत ९ प्रकारका सामाग्रीहरु उक्त अवसरमा प्रदान गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका विद्यालय निरिक्षक हिमलाल लामिछानेले विद्यालयमा विद्यार्थीलाई आकर्षक गर्नका लागि गुणस्तरीय अध्यापन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा धोविनी मासिक पत्रिकाका प्रकाशक तथा उक्त कार्यक्रमका संयोजक नवराज गिरीले ब्यक्तिगत सम्पर्कका आधारमा अस्ट्रेलियामा वस्ने नेपाली दाजुभाईहरुको सहयोगमा उक्त सामाग्री वितरण गरिएको जानकारी दिए । निस्वास्र्थ भावनाले प्रवासी नेपालीहरुले उक्त सामाग्री सहयोग गरेको समेत उनले स्पष्ट पारे । उक्त अवसरमा गिरीले ब्यक्तिगत रुपमा पनि विद्यार्थीलाई सहयोग गरेका थिए ।
सोहि अवसरमा विद्यालयले ब्यवस्थित रुपमा सञ्चालन गर्न लागेको इसिडि र कक्षा १ कोठाको औपचारिक उद्घाटन समेत गरिएको थियो । विद्यार्थीको मागलाई ध्यानमा राखेर विद्यालयले सुविधासम्पन्न कक्षा कोठाको ब्यवस्थापन गरी अध्यापन कार्यलाई अगाडि बढाउन लागेको विद्यालयका प्रअ सुरेन्द्र शर्मा गौतमले सो अवसरमा जानकारी गराएका थिए । कार्यक्रममा पञ्चकोशी माविका प्रअ अर्जुन शर्माले पनि मन्तब्य ब्यक्त गरेका थिए ।
विद्यालयका अभिभावक पुरुषोत्तम रिमालको अध्यक्षतमा सम्पन्न कार्यक्रमको स्वागत इशुमाया गुरुङ र सञ्चालन विद्यालयका प्रअ सुरेन्द्र शर्मा गौतमले गरेका थिए ।