Print

कांग्रेसमा उमेदवार टुंगाउनै गाह्रो, एमाले गाउँ छिर्ने तयारीमा, माओवादी बार्गेनिङमा ब्यस्त

१४ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा पर्वतका राजनैतिक दलहरुको अवस्था भने फरक फरक देखिएको छ ।

नेपाली कांग्रेसले हालसम्म ३० वटा भन्दा बढि वडाका वडाअध्यक्षहरु टुंगाउन सकेको छैन । नगर र गाउँ स्तरीय वैठक पछि क्षत्रीय कमिटि वैठकमा आएपछि कांग्रेसको हलो अडकिएको छ । उसले पैयू गाउँपालिका प्रमुख वाहेकका गाउँ प्रमुख, उपप्रमुखहरु र नगर प्रमुख उपप्रमुख पनि टुंगाउन नसेको छैन । देउवा समूह र पौडेल समूह वीचको प्रतिस्पर्धाका कारण पनि कुन समूहका उमेदवारले टिकट पाउने भन्ने होडबाजी नै चलेको देखिन्छ । नेताहरु दुई समूहमा विभाजन भएर उमेदवारका वीच छलफल चलिरहेका कारण छिटो निश्कर्षमा नेपाली कांग्रेस पुग्न सकेको छैन । उमेदवार टुंगीएका वडाअध्यक्षहरु आफ्नो प्रचारमा गाउँघरमा हिडेपनि औपचारिक रुपमा प्रचार अभियान अझै सञ्चालन हुन सकिरहेको छैन ।

चुनावी अभियान तिव्र गतिमा अगाडि बढ्नु पर्नेमा आन्तरीक किचलोमा कांग्रेस भुलीरहेको बेला एमाले पर्वतले भने अधिकांशका वडाअध्यक्षहरु सर्वसहमत टुंगाएको छ । बुधबार वेलुकीसम्म झण्डै ४५ वटा वडाअध्यक्षहरुको टुंगो लगाएको एमालेमा गाउँपालिका प्रमुख र उपप्रमुखहरुको वीचमा पनि आन्तरीक सहमति जुटिसकेको छ । सवै गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमा आन्तरीक सहमती गरेको एमालेले बाँकी रहेका वडाहरु टुंगाउनका लागि आन्तरीक कसरत गरेको छ । एमाले भित्र केहि वडाहरुमा मात्र विवाद रहेका कारण अव चुनावी अभियान लिएर एमाले गाउँपस्ने गरी तयारी गरीरहेको छ ।

उता, स्थानीय चुनावबाट अस्तित्व नै गुम्ने खतरा देखेको माओवादी भने नेपाली कांग्रेस र एमालेसंग तालमेलका लागि बार्गेनिङ गर्नमा ब्यस्त देखिन्छ । चरणबद्ध तरिकाले कांग्रेस र एमालेसंग सिटसंख्याको बार्गेनिङ गर्नमा ब्यस्त देखिएको माओवादी अस्तित्व जोगाउ अभियानमा लागेको स्पष्ट देखिएको छ । उसले केहि वडाका वडाअध्यक्षहरु र गाउँपालिकाका पदाधिकारीहरुको समेत नामावली तयार गरेपनि तालमेलको टुंगो नलागेसम्म सवै नाम भने सार्वजनिक गरेको छैन । स्थानीय तहको निर्वाचनमा निकै कमजोर शक्तिको रुपमा देखिएको माओवादी तालमेल विना निर्वाचनमा जाँदा जिल्लामा पार्टीको अस्तित्व नै संकटमा पर्नसक्ने भएका कारण पनि उ दुई ठूला दलसंग बार्गेनिङमा ब्यस्त देखिएको हो । जुन दलले धेरै संख्यामा सहमती जनाउँछन त्यहि संख्याका आधारमा तालमेल गर्ने गरी माओवादीले बार्गेनिङ गरीरहेको बुझिन्छ ।