१४ वैशाख, पर्वत । स्थानिय तहको पहिलो चरणको चुनावको मिति नजिकिदै गएको छ । केहि दिनमा स्थानिय तहको चुनाव यस क्षेत्रमा हुँदैछ । चुनावको मिति नजिकिदै जाँदा चुनावमा भोट हाल्नका लागि गाउँ फर्कनेहरुको लर्को लाग्न थालेको छ ।
झण्डै दुई दशकपछि हुन लागेको स्थानिय तहको चुनावमा सहभागि भएर आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफुले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउनका लागि भएपनि विदेश र तथा मुलुककै बाह्य जिल्लामा भएकाहरु पनि गाउँ फर्किन थालेका हुन् ।
निर्वाचनमा मतदान गर्न कतारबाट आएका ठुलीपोखरी १ का छविलाल सापकोटाले वैशाख ३१ गते मतदान गरेर फर्किने गरी एक महिनाको छुट्टि मिलाएर आएको बताए । उनले मतदान पछि मतपरिणाम आए लगत्तै फर्किने बताए । त्यस्तै चुनावमै भाग लिनका लागि खाडी मुलुक मलेसियाबाट आएका पिपलटारीकमा रमेश अधिकारीले दुई दशकपछि आएको अवसरलाई सदुपयोग गर्न बिदा मागेर गाउँ फर्किएको बताए । उनले स्थानिय जनप्रतिनिधि नहुँदा आफ्नो गाउँ ठाउँको विकास हुन नसकेको बताउँदै आफुहरुले चुनेको प्रतिनिधिले तल्लो तहको विकास र आम नागरिकलाई राज्यका सेवा सुविधाहरु पु¥याउनेमा विश्वस्त रहेको बताए ।
कतिपय विभिन्न राजनीतिक दलकै सक्रिय कार्यकर्ता त कतिपय सर्वसाधराणहरु पनि भोट हाल्नकै लागि गाउँ फर्कनेहरुको संख्या उल्लेख्य रहेको पर्वत–काठमाडौ सडकका सवारीचालकहरुको भनाई रहेको छ ।
मलेसियाबाट हालै गाउँ फर्केका कुर्घाका शसि शर्माले दुई दकपछिको अवसरको उपभोग गर्न आएको बताए । अहिलेसम्म स्थानिय निकायको चुनावमा सहभागि हुन पाएको थिईन त्यसैले अहिले छुट्टीनै मिलाएर भएपनि साउदि अरबबाट घर फर्केको उनले बताए । उनले चुनावी परिणाम सार्वजनिक भएपछि पुनः विदेशनै जानेगरी आएको बताए । सापकोटा, अधिकारी र शर्मा मात्रै हैनन पर्वत जिल्लाका गाउँ गाउँमा जनप्रतिनिधि चुन्नका लागि स्वदेश फर्किनेहरुको संख्या उल्लेख्य रहेको ठुलीपोखरीका सामाजिक परिचालक रमेश पौडेलले जानकारी दिए । उनले भने लामो समय पछि हुने भएकाले पनि मतदाता नामावलीमा नाम समावेश भएकाहरु स्वदेश फर्किने क्रम बढेको हो ।
पर्वत जिल्लाका झण्डै २३ हजार युवा युवती वैदेशिक रोजगारीका लागि भारत बाहेकका अन्य मुलुकहरुमा रहेका छन् । उनिहरुमध्ये केहि प्रतिशत स्वदेश फर्किएर मतदान्मा सहभागि हुने जिल्ला निर्वाचन कार्यालयले अपेक्षा गरेको छ । विदेशमै बसेर भएपनि मतदान गर्न पाउने सुविधा नभएकाले पनि गाउँ फर्कनुको विकल्प नभएको हो । जुन गाउँपालिका वा नगरपालिकाको वार्डको ठेगाना मतदाता नामावलीमा समावेश छ त्यहिँ ठाउँमा मतदान गर्न जानुपर्ने भएकाले पनि पछिल्लो समय ग्रामीण क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।
पर्वत जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले कतिपय गाउँपालिका र नगरपालिकाका वार्डहरुमा उम्मेदवार टुंगो लगाइसकेकाले प्रचार प्रसार शुरु भैसकेको छ । आयोगले चुनावी तयारी तिब्र पारेसँगै गाउँ गाउँमा चुनावी चहलपहल बढ्न थालेको छ ।
उम्मेदवारहरुले गाउँ गाउँ र घरदैलो गरेर मत माग्न थालिसकेका छन् । एमाले, काँग्रेस, माओवादी, राप्रपा लगायतका दलहरुबाट उम्मेदवार सुनश्चित भैसकेकाहरुले गाउँ अभियानलाई तिब्र पारेको शंकरपोखरी मा स्थानिय सञ्जय रेग्मीले जानकारी दिए ।