१३ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा पर्वत जिल्लाका नेताहरु उमेदवार छनोटमा व्यस्त छन् । करिब २० वर्षपछि हुन लागेको निर्वाचनमा उमेदवारका आकांक्षी धेरै हुँदा दलहरुलाई जिल्ला स्तरबाट उमेदवारको अन्तिम टुंग्गो लगाउन सकस परेको छ ।
पर्वतमा नेपाली कांग्रेसले पयौं गाउँपालिकामा मात्रै खगेन्द्रप्रसाद तिवारीको नाम अध्यक्ष र जसमति गुरुङको नाम उपाध्यक्षमा सर्वसम्मत टुंगो लगाएको जिल्ला सभापति खिमप्रसाद भुषालले जानकारी दिए ।
उनका अनुसार अधिकांश वडाको भने टुंग्याइसकिएको छ । नगरपालिका र गाउँपालिकामा आकांक्षी धेरै हुँदा क्षेत्रीय कमिटीले बिहीबारसम्म टुंग्याउने जानकारी दिए ।
“पयौं बाहेक अन्य ठाउँमा आकांंक्षी धेरै भएकाले क्षेत्रीय कमिटीमा भोटिङ हुने सम्भावना छ । बिहीबारसम्म सबै टुंग्याउने हाम्रो तयारी हो,” उनले भने ।
त्यसैगरी नेकपा एमालेले महाशिला गाउँपालिकामा राजु पौडेलको नाम सर्वसम्मत गर्न सकेको छ । बाँकी उमेदवार जिल्लामा टुंगो लगाउन नसकेपछि प्रदेश कमिटीमा सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष पदम गिरीले बाह्रखरीलाई जानकारी दिए ।
एमालेले ४१ वटा वडाका उमेदवार भने सर्वसम्मत गरेको अध्यक्ष गिरीले जानकारी दिए ।
उनका अनुसार बुधाबारसम्म मिल्न बाँकी वडाको टुंगो लगाइनेछ । गाउँपालिका र नगरपालिकाका आकांक्षी प्रमुख र उपप्रमुखमा आकांक्षीको नाम प्रदेश कमिटीलाई सिफारिस गरिसकिएको बताए । “प्रदेश कमिटीले पनि बिहीबारसम्म सबै उमेदवार टुग्याउँछ,” उनले भने ।
त्यसैगरी माओवादी केन्द्रले पनि जिल्ला अध्यक्ष कृष्णप्रसाद पराजुली बिहादी गाउँपालिकाबाट सर्वसम्मत उमेदवार बनेका छन् । बाँकी गाउँपालिका तथा नगरपालिकामा छिट्टै टुंग्याउने उनले जानकारी दिए । माओवादी केन्द्रले पर्वतमा कांग्रेससँग सहकार्य गर्ने चर्चा पनि चलेको छ ।
पराजुलीका अनुसार सबै ठाउँमा उमेदवारमा आकांक्षीको नाम आइसकेको छ । आकांक्षी धेरै भएको ठाउँमा जिल्लाले सिफारिस गरेको नाम प्रदेश कमिटीले टुंग्याउँछ । “मनोनयनको समय थप भएकाले केही समय लागेको हो । आकांक्षीको नाम कार्यालयमा पेश भएको छ,” उनले भने, “कांग्रेस, राप्रपा लगायत साना दलसँग पनि सहकार्यको कुरा चलिरहेको छ । ठ्याक्कै निष्कर्ष त आएको छैन । निर्वाचनमा सबै मिलेर जाँदा खासै फरक पर्दैन नि ।”
पर्वतमा कांग्रेससँग मिलेर जाने विषयमा छलफल गर्न केन्द्रीय नेता दिननाथ शर्मा सक्रिय रहेको बताइएको छ । माओवादी केन्द्रले आफ्नो उपस्थित कमजोर भएको ठाउँमा अन्य पार्टीसँग मिल्ने रणनीति लिएको छ ।
कुल २ नगरपालिका र ५ गाउँपालिका रहेको पर्वतमा ९९ हजार ६ सय ७० मतदाता छन् ।
पर्वतमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नगरपालिका मेयर÷उपमेयर तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका आकांक्षीको सूची यस्तो छ ।
यसैबीच पर्वतमा राप्रपा, संघीय समाजबादी फोरम, नयाँ शक्ति र जनमोर्चाको पनि उपस्थिति रहेको छ । ति पार्टीले अन्य पार्टीसँग मिल्ने वा आफ्नै उमेदवार उठाउने भन्ने टुंगो लगाउन सकेका छैनन् ।-अशोक पौडेल







