२३ चैत्र, पर्वत । केहि दिन यता जिल्ला अस्पताल पर्वतमा भाईरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । जिल्ला अस्पताल सँगै पर्वतका गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थाहरुमा समेत विरामीको चाप बढेको हो ।
मौसम परिवर्तनको समयमा बढी मात्रामा प्रदुषित हावा हुरी सँगै खानेपानी समेत दुषित हुने भएपछि विरामीहरुको संख्यामा बृद्धि भएको हो । अहिले जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १ सय २० जना सम्म भाईरल ज्वरोका बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।
अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत एक साता यता तेब्बरको संख्यामा बृद्धि भएका छन् । त्यस मध्ये अधिकांस भाइरलका विरामी रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार केही समय अघिको तुलनामा यतिबेला तेब्बरको संख्यामा बिरामी बढेको बताइएको छ । भाइरलको प्रकोप बढि मात्रामा बालबालिकामा देखिएको छ । बालबालिका सँगै एकै घरमा चारपाँच जनाको संख्यामा उपचारका लागि आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिनुभयो ।
बृद्धबृद्धाहरुमा समेत यसको संक्रमण देखिएको छ । दुषित पानी र प्रदुषित हावाहुरीका कारण भाइरलको प्रकोप बढेको अस्पतालका डा. थापाले जानकारी दिनुभयो । यसबाट बच्न दुषित खाना र खानेपानी प्रयोग नगर्ने र कारणबस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन सुझाव दिएको डाक्टर थापाले बताउनुभयो । १५ शैयाको क्षमता रहेको अस्पतालमा अहिले बैकल्पिक बेडको व्यवस्था गरेर बिरामीहरु भर्ना गरिएको छ ।
लामो समयको खडेरी र चर्को गर्मीका कारण छिटो बिरामी परिने भएकाले संख्या बढेको डाक्टर थापाले जानकारी दिनुभयो । गाउँ गाउँमा पनि भाईरल ज्वरोका विरामीहरुको संख्या बढेको जानकारी आएपछि पत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधी र स्वास्थ्यकर्मीलाई चौविसै घण्टा खटिन निर्देशन दिईको छ । जिल्लाका अन्य निजी स्वास्थ्य क्लीनिकहरुमा समेत भाइरलका विरामीहरुको संख्या बढेको जनाएका छन् ।





प्रतिकृया दिनुहोस्