२० चैत्र, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा १० सिल्मीमा १ करोडको लागतमा मासु प्याकेजिङ तथा प्रशोधन उद्योग निर्माण हुने भएको छ ।
मोदीकाली प्रशोधन तथा प्याकेजी उद्योग नामक कम्पनीले उक्त उद्योग स्थापना गर्न लागेको हो ।उद्योगका अहिले निर्माण कार्य भईरहेको उद्योग सञ्चालक सदस्य शान्ता पौडेलले जानकारी दिए । पौडेलका अनुसार कुल १ करोड १९ लाख ८२ हजार ५ सय ९९ रुपैंयाको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । उक्त कार्यका लागि ब्यवसायीक कृषि तथा ब्यापार आयोजनाले कुल ३४ लाख ९७ हजार ८ सय ५२ रुपैंया अनुदान उपलब्ध गराएको छ ।
उक्त आयोजनाको बाँकी रकम भने लगानीकर्ताहरुले ब्यहोर्नेछन । ५ जनाको सक्रियतामा उक्त उद्योग सञ्चालनमा आउन लागेको हो । उद्योगमा बधस्थल भवन निर्माण, बिक्रि कक्ष निर्माण, आराम घर तथा जाँच कक्ष निर्माण गरिने उद्योगका ब्यवस्थापक गोविन्द पहाडीले जानकारी दिए । पहाडीका अनुसार आगामी ६ महिना भित्र उद्योग सञ्चालनमा आउनेछ ।
आयोजना अन्तर्गत खसी बोकाको मासु उत्पादन गरिनेछ भने, उन्नत मल उत्पादन र बध्रस्थल सुविधा उपयोग गरी हाड छाला संकलन र बिक्री गर्ने गरी उद्योगले कार्य शुरु गरेको उद्योगका अध्यक्ष गणेश शर्मा पौडेलले जानकारी दिए । धौलागिरी क्षेत्रमै पहिलो उद्योगको रुपमा उक्त उद्योग सञ्चालन हुन लागेको हो ।
प्याकेजीङ मासु भने भेटेनरी जाँचबाट पास भएको मात्र प्रयोग गरिने भएका कारण पनि आधुनिक बजारमा त्यस्तो मासुको माग उच्च हुने अध्यक्ष पौडेलले विश्वास ब्यक्त गरे ।





प्रतिकृया दिनुहोस्