३० फागुन, पर्वत । जिल्लाको कुश्मा नगरपालिका १० स्थित ठुलिपोखरीमा कम्तिमा २० लाखको लागतमा ब्यवसायीक बाख्रापालनको शुरुवात गरिएको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्देश गौतमको नेतृत्वमा ब्यवसायीक बाख्रापालनको शुरुवात गरिएको हो ।
विकास राष्ट्रिय एकिकृत पशु तथा कृषि सहकारी संस्था मार्फत बाख्रापालन फर्मको सञ्चालन गरिएको छ । माओवादी केन्द्रमा आस्थावान जिल्लाका नेताहरुको पहलमा जनयुद्धमा स्वर्गीय भएका कमरेड विकासको स्मृतिमा गठन गरिएको उक्त सहकारी मार्फत उनीहरु ब्यवसायीक बाख्रापालनमा लागेका हुन ।
झण्डै ७० रोपनी क्षेत्रफलको जग्गालाई बार्षिक ३५ हजार भाडा तिर्ने गरी सम्झौता गरेर उक्त फर्मको सञ्चालन गरिएको सहकारीका अध्यक्ष एवम माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्देश गौतमले जानकारी दिए । फर्म सञ्चालनका लागि हालसम्म ठूलो आर्थिक सहायता कतैबाट पनि प्राप्त नभएपनि सहकारीको लगानीबाट शुरुवात गरिएको उक्त फर्मका लागि स्थानीय विकास मन्त्रालयले १० लाख रुपैंया विनियोजन भने गरेको उनले बताए । हाल २० वटा बाख्राबाट शुरुवात गरिएको उक्त फर्ममा २ सय ५० वटा बाख्राहरु रहने गरी योजना गरिएको गौतमले बताए ।
फर्ममा दिउँसो घाँस खानका लागि बाख्राहरुको चाङ, खोर र आवास गृह निर्माण गरिएको उनले बताए । बाख्रापालनको शुरुवात भएकाले हालसम्म आम्दानी नभएको तर बार्षिक ५ लाख भन्दा बढि आम्दानी पहिला केहि बर्षहरुमा गरिने गरी उक्त फर्मको शुरुवात गरिएको छ ।
बाख्राको स्वास्थ्य सेवामा प्राविधिक सहयोग जिल्ला पशु सेवा कार्यालयले उपलब्ध गराउँदै आएको बताउदै सहकारीका अध्यक्ष गौतमले बाख्राका लागि आवश्यक घाँसका विरुवाहरु पनि रोपण गरिएको बताए ।
२ जना कामदारहरुले नियमित काम गरीरहेको उक्त फर्ममा आधुनिक खोरको निर्माण गरिएको छ । नगरपालिका क्षेत्रमा सञ्चालन गरिएको उक्त फर्ममा उत्पादीत बाख्राहरुको पहिलो बजार नगरपालिकको कुश्मा क्षेत्र नै हुने गरी आफूहरुले योजना गरेको सहकारी सचिव गोपि पुरीले जानकारी दिए ।
राजनैतिक परिर्वतनसंगै आर्थिक परिर्वतन देशले खोजीरहेका कारण आफूहरुले उक्त ब्यवसायलाई प्राथमिकता दिएको उनले बताए । सहकारीले केहि समय पछि माछा पोखरीको निर्माण गरी, माछापालन गर्ने तयारी समेत गरेको उनले जानकारी दिए । आर्थिक क्रान्ति विना देशको विकास सम्भव नहुने भन्दै सहकारी मार्फत उनीहरु ब्यवसायीक बाख्रापालनमा जुटेका हुन ।






प्रतिकृया दिनुहोस्