Print

जलजला गाउँपालिकाको हम्पाल लेकमा १२ थरी गुराँस फुल्दा यस्तो देखिन्छ (फोटो फिचर)

२९ फागुन, पर्वत । पर्वतको जलजला गाउँपालिको सवैभन्दा उचाईमा रहेको हम्पाल लेक यतिबेला रंगीएको छ । प्रत्येक बर्ष फागुन देखि बैशाखसम्म उक्त लेकमा फुल्ने लालीगराँसका विभिन्न रंगका कारण लेक रंगीने  गरेको हो । यस बर्ष पनि हम्पालको लेकमा १२ थरी गुराँस फुलेका छन ।

जिल्लाको सबैभन्दा उचाईमा रहेको हम्पाल क्षेत्र लाली गुराँस पदमार्गको रुपमा विकास हुन थालेको छ । समुद्री सतहबाट ३ हजार ३ सय ९ मिटरको उचाईमा रहेको यस क्षेत्रमा विभिन्न थरिका गुराँस फूलेको छ ।

अहिले गुराँसको मौसम भएकाले पदयात्राका लागि त्यस क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । उच्च, फराकिलो भु–भाग, घना जंगल, विभिन्न जुडिबुटी, पानीको पर्याप्त सुविधा, विभिन्न धार्मिक स्थल अनि जंगलै ढाक्ने गरी फूलेका गुराँसले त्यहाँ पुग्नेको मन चंगा हुन्छ ।

हम्पालको फेदिमा रहेका बस्तीबाट ५ देखि ६ घण्टाको पैदल यात्रापछि गुराँसले ढाकेको जंगल पुग्न सकिन्छ । पर्वतका शालिजा, लेकफाँट, धाईरिङ, बनौ र क्याङ गाविसमा अवस्थित हम्पाल खासगरी सयौं थरीका जडिबुटी, लोपोन्मुख रुखहरु, वन्यजन्तु रहेका छन् । लालीगुँरासको पहाडका नामले पनि परिचित यो क्षेत्रमा हम्पाल डाँडा, जलजला, फलेक खर्क, सिर्पु चर्चित नामहरु हुन् ।

यहाँबाट सूर्योदय र सूर्यास्तको सहज रुपमा अवलोकन गर्न सकिन्छ । हम्पाल लेकबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ लगायतका जिल्लाको अवलोकन गर्न सकिन्छ । हम्पालमा पर्वतको सदरमुकामबाट दुर्लुङ हुँदै शालिजाको तारेबाट पनि जान सकिन्छ भने क्याङ गाविसको लेस्पार र लेकफाँट गाविसको फलामेडाँडाबाट पनि त्यहाँ पुग्न सकिन्छ ।

नेपालमै सबैभन्दा बढी १२ थरिका लालीगुँरास पाइने हम्पालमा लोपोन्मुख वन्यजन्तु र जडिबुटी प्रसस्त मात्रामा पाईन्छ । यहाँको वनक्षेत्रलाई उपयोग गर्न सक्ने हो भने जिल्लामा वार्षिक करोडौं रुपैयाँ आम्दानी गर्न सकिने स्थानीय बासिन्दाले बताएका छन् । पर्यटकको आकर्षण बढे पनि सेवा सुविधाको विस्तार हुन नसक्दा समस्या भने हुने गरेको छ ।

तस्विर : सन्तोष थापा

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस