२२ फागुन, पर्वत/कम्प्युटर एशोसिएसन महासंघ नेपाल जिल्ला शाखा पर्वतको अधिवेशनले ढाकाराम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शनिवार सम्पन्न प्रथम अधिवेशनले सापकोटाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोपिनाथ तिमिल्सिना, सचिवमा अच्युत पौडेल, कोषाध्यक्षमा मिलन पौडेल, सहसचिवमा शोभा आचार्य शर्मा चयन गरेको छ भने सदस्यहरुमा क्रमशः भरत सापकोटा, मिनराज केसी, सुनिता पौडेल, रमेशप्रसाद शर्मा चयन भएका छन् ।
यस अघि भएको उद्घाटन कार्यक्रममा कम्प्युटर एशोसिएसन महासंघ नेपालका केन्द्रीय सदस्य जगनबहादुर गुरुङले व्यानर पढेर कार्यक्रमको समुद्घाटन गरेका थिए ।
उनले सूचना प्रविधिको विकाससँगै कम्प्युटर प्रविधिसँग आवद्ध संघसंस्था, फर्म तथा व्यक्तिहरु संगठित भएर समाजलाई प्रविधिको क्षेत्रमा अगाडि लैजान क्यानको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भने–संस्था हुनु र नेतृत्वमा जानु मात्र ठूलो कुरा होइन, यसले कसरी काम गर्छ र के गर्छ भन्ने ठूलो कुरा हो । त्यसैले यस क्षेत्रमा थप शसक्त रुपमा अघि बढ्न गरी नयाँ नेतृत्व चयन हुनेमा आशावादी छु ।’
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष केदानाथ शर्मा, पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायतले बोलेका थिए । कम्प्युटर एशोसिएसन महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शाखाका सदस्य मिलन पौडेलले स्वागत र भरत सापकोटाले संचालन गरेका थिए ।
विश्वराज पाण्डेको संयोजकत्वमा तुलसीराम शर्मा र किशोर सापकोटा रहेको तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी काम गरेको थियो ।





प्रतिकृया दिनुहोस्