१८ फागुन, पर्वत । जिल्लाको उत्तरी क्षेत्र शालिजामा तयार भएका नेपाली कागजले जापानका बजार पाएका छन । स्वदेश उत्पादन महंगो हुने भएकाले देश भित्र भन्दा विदेशमा कागजको माग धेरै भएको हो ।
जंगलमा पाइने लोक्ताको प्रशोधनबाट तयार हुने नेपाली कागज बनाउनका लागि शालिजा गाविसको वडा न ६ मा हम्पाल सामुदायिक लोक्ता प्रसोधन केन्द्रको स्थापना भएको छ । उक्त केन्द्रमा हाल ५ जनाले लोक्ताबाट नेपाली कागज उत्पादन गरीरहेका छन । नेपाली कागजको माग बजारमा उच्च रहेपनि बजारमा स्थानीय उत्पादनको मूल्य धेरै भएका कारण खपत कम हुने गरेको छ ।
उत्पादन केन्द्रका अध्यक्ष तुलबहादुर खोर्जा भन्छन–‘स्वदेशमा भन्दा धेरै हामीले विदेशमा बिक्री गरेका छौं ।’ स्वदेशी बजारमा गुणस्तरीय भन्दा कम मूल्यको सामाग्री खोज्ने भएका कारण विदेशमा निर्यात हुँदा आम्दानी पनि राम्रो हुने र विदेशमा पनि नेपाली उत्पादनले स्थान पाउने भएका उद्यमीहरु पनि उत्साहित देखिन्छन ।
स्थानीय प्रविधिमा उत्पादीत कागजको डायरीहरु बनाएर समेत विक्री हुँदै आएको छ । बढि जसो पोखराको महिला सीप विकास केन्द्रबाट बिक्री भईरहेको बताउने खोर्जाले स्थानीय बजारमा डायरी (नोटबुक) भने विक्री हुने गरेको बताए । हम्पालका लेकमा पाइने लोक्ता नामको बृक्षको बोक्रालाई प्रशोधन गरेर नेपाली कागज तयार गरिन्छ । उक्त प्रशोधन केन्द्रका लागि गैर सरकारी संस्था र सरकारी निकायबाट भने सहयोग प्राविधिक सहयोग मिलेको उद्यमीहरुको भनाई छ ।
कसरी तयार गरिन्छ नेपाली कागज
जंगलबाट ल्याएको लोक्तालाई मसिने गरी प्रसोधन गरी झोल जस्तो बनाईन्छ । उक्त झोलिलो बस्तुलाई काठको फर्ममा राखिएको मसिनो जालीमा पानी भित्र डुबाएर विस्तारै तार्दै लोक्ताका टुक्राहरुलाई एकिकृत गरिन्छ । उक्त टुक्राहरुलाई काठको फ्रेममा तैराएपछि घाम सुकाइन्छ । घाममा सुकाइएको झोलिलो पदार्थ नै सुकेपछि नेपाली कागजको रुपमा विकसीत हुन्छ ।







प्रतिकृया दिनुहोस्