१८ फागुन, पर्वत । विगत १८ वर्ष पहिला ग्रामीणबजारमा उद्योग संचालन गरेका पुराना उद्यमीले आफुले उत्पादन गरेका सामाग्रीले बजार पाउन छाडेको गुनासो गरेका छन् । आजभन्दा १८ वर्ष पहिला भारतीय रोजगारी त्याग्दै कुश्मा नगरपालिका वडा नं. १० मा धौलागिरी भुजिया तथा निमकिन उद्योग संचालन गर्दै आएका आत्मराम पौडेलले आफूहरुको उत्पादनले बजार पाउन नसकेको दुखेसो पोखेका छन् ।
आफूले विदेश जानुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोंच अनुरुप सानो बजारमा हिम्मकात साथ व्यवसाय शुरु गरेको भएपनि साना उद्यमीहरुको उत्पादनले बजार पाउन नसकेको उहाको गुनासो छ । हामी सानो परिवारको मान्छे यहीं केही गरेका छौं, उद्यमीका चर्का–चर्का नारा घन्काउने सरकारले उद्योग कस्तो छ? कसरी चलेको छ ? संरक्षण गर्न के गर्नुपर्छ भन्ने विषयमा कहिल्यै वास्ता नगरेको कारण उत्पादनले बजार पाउन नसकेको उहाको भनाइृ छ । विगतमा कमाई राम्रै भएपनि हाल प्रतिस्पर्धा बढ्दै गएको र अन्य ठूलो शहरबाट ठूलो उद्योगीहरुको सामान आयात भई स्थानीयस्तरमा उत्पादित सामानलाई बेवास्ता गरिँदै गएको उहाले बताउनुभयो ।
जाँगर भए बेकारी बन्नु पर्दैन’ बूढापाकाले भन्ने गरेको यो कुरा वास्तवमै उहाका लागि मनन्योग्य छ । केही गरी खाने जाँगर छ भने कुनै पनि पेशा वा व्यवसाय गरी आत्मनिर्भर बन्न सकिन्छ । अनि त्यस्तो पेशा सानो वा ठूलो भन्ने हुँदैन र कुनै पनि पेशा वा व्यवसायलाई सानो वा ठूलो ठान्नु पनि हुँदैन । जीवन सफल बनाउन आयआर्जन हुने पेशामा पँुजी लगानी गर्न र सोही पुँजीबाट थप पुँजी वृद्धि गर्दै परिवारका लागि समेत दीगो आयआर्जन र उद्यमशील बाटो तय गर्न सकिने उदारण उहा बाट लिन सकिन्छ ।
कुश्मा नगरपालिका वडा नं. ३ पाङ स्थायी भई बिगत लामो समयदेखि सदरमुकाम कुश्मामा बस्दै आएका पौडेल २०५३ सालमा धेरै चुनौतिका बीच धौलागिरी भुजिया तथा निम्किन उद्योग सञ्चालनमा ल्याएका थिए । १८ बर्ष भारतमा गई बिभिन्न काम गरेर आफ्नो परिबारको जीविकोपार्जन गर्देै आएका पौडेलले स्बदेशमै केही गर्नुपर्छ भन्ने सोच अनुरुप १८ वर्ष पहिला उद्योग संचालन गरेको भन्दै सोहि उद्योगबाट भएको कमाईबाट अहिले आफ्नो परिबार समेत पाल्दै आएको बताउनुभयो ।
पर्बत जिल्लाकै एक मात्र उनको उद्योगमा उत्पादित ताजा एवं स्बादिष्ट निम्किन र दाम्ले मिठाई पहिले जिल्लाको धेरैजसो ठाउँमा पुग्ने गरे पनि अहिले पतिस्पर्धाको कारण बजार पाउन समेत मुस्कील परेको छ । पहिले सदरमुकाम कुश्मा बजारमा मात्र नभएर गाउँ–गाउँका पसलहरुमा समेत निम्किन र दाम्ले मिठाइृको माग आउने गरेको उनको भनाई छ । मैदा, आटा, घिउ, तेल, चिनी, नुन, बेकिङ पाउडर तथा जुबानो लगायतका कच्चा पदार्थको समिश्रणमा तयार पारिने बिभिन्न परिकारहरु आफ्नै उद्योगबाट समेत बिक्री बितरण गर्देै आएका छन् । ५ जनाको परिबार रहेका पौडेललाई परिबारबाट पनि उद्योग सञ्चालनको लागि त्यत्तिकै सहयोग मिलेको छ । त्यहि उद्योग सञ्चालनको कमाई गर्देैै आएका उनलाई उद्योग संचालन गरेकोप्रति गर्व छ ।– सुवास लामिछाने





प्रतिकृया दिनुहोस्