११ फागुन, पर्वत । प्रकारका गुराँस पाईने पर्वतको सबैभन्दा उचाईमा रहेको हम्पाल क्षेत्र अनुपम सौन्दर्यको खानीको रुपमा रहेको छ । पछिल्लो समय लाली गुराँस पदमार्गको रुपमा विकास हुँदै जान थालेको यस क्षेत्र पर्यटकहरुको आकर्षणको केन्द्र बन्न थालेको छ । समुद्री सतबाट ३ हजार ३ सय मिटरको उचाईमा रहेको यस क्षेत्रमा विभिन्न थरिका गुराँस फुल्ने भएकाले गुराँसको मौषममा पदयात्रामा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा समेत बृद्धी हुन थालेको छ ।
मुलुकका अन्य चर्चित पर्यटकीय आकर्षणका केन्दजस्तै सम्भावना बोकेको र पश्चिम क्षेत्रकै अनुपम ठाउँ भएकाले वर्षेनी पर्यटकको संख्या बढेको भएपनि आवश्यक प्रचार प्रसार अभावमा ओझेलमा परेको छ । यस्तो अनुपम ठाउँको विकास, संरक्षण र संबद्र्धनमा कुनै पनि निकायको चासो नपुग्दा ओझेलमा परेको स्थानीय क्याङ गाविसका पूर्व अध्यक्ष नरसिंह पुनको भनाई छ ।
जिल्ला विकास समिति तथा पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले वर्षेनी लाखौं रुपीयाँ खर्च गर्ने गरेको भएपनि यस क्षेत्रमा पर्यटन विकासका पूर्वाधार बन्न नसक्दा त्यहाँ जाने पर्यटकहरुले समेत राम्रो सुबिधा पाउन नसकेको पुनको भनाई छ । शालिजा, लेकफाँट, धाईरिङ, बनौ र क्याङ गाविसमा अवस्थित हम्पाल खासगरी सयौ थरीका जडिबुटि, लोपोन्मुख रुखहरु, वन्यजन्तु रहेकाछन् ।
साथै सोहि स्थानमा रहेको पहाडवाट १६ जिल्लाको प्रत्यक्ष अबलोकन गर्न सकिन्छ भने दुई दर्जनभन्दा बढि हिमश्रृङखलाहरुको सहज रुपमा अवलोकन गर्न सकिन्छ ।लालीगुँरासको पहाडका नामले पनि परिचित यो क्षेत्रमा हम्पाल डाँडा, जलजला, फलेक खर्क, सिर्पु चर्चित नामहरु हुन् । यहाँवाट सुर्योदय र सुर्यास्तको सहज रुपका अबलोकन गर्न सकिन्छ ।
हप्पाल लेकवाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ लगायतका जिल्लाको अबलोकन गर्न सकिने भएकाले दृश्यावलोकनमा रुचि राख्ने पर्यटहरु अहिलेपनि यहाँ पुग्न सक्छन् ।
हम्पालमा पर्वतको सदरमुकामदेखि दुर्लुङ हुँदै शालिजाको तारेवाट पनि जान सकिन्छ भने क्याङ गाविसको लेस्पार र लेकफाँट गाविसको फलामेडाँडावाट पनि यहाँ पुग्न सकिन्छ । हम्पाल सँगै रहेका पर्यटकीय क्षेत्रका रुपमा परिचित मोहोरेडाँडा, म्याग्दीको नागी, पुनहिल, फलामेडाँडा लगायतका ठाउँहरुमा अहिलेपनि दैनिक रुपमा पर्यटकहरु पुग्ने गरेकाछन् ।-गणेश पौडेल/सन्तोष थापा, पर्बत








प्रतिकृया दिनुहोस्