११ फागुन, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारलाई अरु गाउँसंग जोड्ने गरी निर्माण भएका झोलुंगे पुलहरुका कारण कुश्मामा चहल पहल बढेको छ । कुश्मालाई दक्षिण बागलुङसंग जोड्ने गरी निर्माण भएको कुश्मा–कैया झोलुंगे पुल, कुश्मा–ज्ञादी झोलुंगे पुल, कुश्मा–मुडिकुवा झोलुंगे पुलका कारण ग्रामीण भेगका जनतालाई बजारको पहुँचमा सहजता भएसंगै कुश्माको ब्यापार बढेको हो ।
पर्वत उद्योग बाणिज्य संघका महासचिव ठाकुर वि. पौडेलले झोलुंगे पुल कारण कुश्माकोे ब्यवसायमा थप बृद्धि भएको दाबी गर्छन । ‘बाटो टाढा भएका कारण बजार आउन समस्या परेका स्थानीयलाई पुल बनेसंगै बजार आउने दुरी छोटिएको छ ।’ महासचिव पौडेल भन्छन–‘सामान्य खुद्रा पसलहरु गाउँमै खोलिएका कारण स्थानीय स्तरमा समेत साना ब्यापारीहरु बढेका छन ।’
कुश्माको ब्यवसायलाई दक्षिण जोड्ने मोटरबाटोका कारण केहि असर परे पनि झोलुंगे पुलले भने ब्यवसायमा बृद्धि भएको ब्यवसायीहरु बताउँछन । झोलुंगे पुल बनेकै कारण पुल हेर्न आउने आन्तरीक पर्यटकहरुका कारण होटल ब्यवसायमा पनि बृद्धि भएको होटल बन्दनाका सञ्चालक कृष्ण प्रसाद श्रेष्ठले बताए । ‘रात विताउँने पाहुना भन्दा, खाना र खाजा खाने पाहुनाहरु बढि आउँछन कुश्मामा ।’ श्रेष्ठले थप्छन–‘मुस्ताङ जाने बाटो भएका कारण पनि कुश्मा पर्यटकहरुको संख्यामा बृद्धि भएको छ ।’ कुश्मामा १ दर्जन भन्दा बढि वैंकहरुको शाखा खोलिएका कारण पनि आर्थिक कारोबारमा पनि बृद्धि भएको छ । उता, सहकारी मार्फत हुने ऋण प्रवाह र ब्यवसायीक कृषकहरुको संख्या पनि कुश्मा नगरपालिका क्षेत्रमा थपिएका छन ।
ग्रामीण क्षेत्रका सवै गाविसहरुमा कच्चि सडक पुगेका कारण ग्रामीण क्षेत्रमै साना ब्यवसायहरु भने सञ्चालनमा छन । सदरमुकाम कुश्मा बजारमा खोलिएका सुविधा सम्पन्न नीजि विद्यालयहरु र विशेषज्ञ सेवा सहितका मेडिकलहरुका कारण पनि कुश्मा बजारको सेवा प्रवाहले बागलुङको दक्षिणी क्षेत्रका बासिन्दाहरु समेत लाभान्वित भएका छन । उता, झोलुंगे पुल बनेपछि भने कुश्मामा बास बस्नुपर्ने बाध्यता बागलुङको दक्षिणी गाविस र पर्वतको दक्षिणी गाविसका बासिन्दाको हटेको छ । दुरी छोटिएसंगै कुश्मा देखि घरमै बास बस्न जान सक्ने भएका छन ।
जिल्लामा निर्माण भएका देशकै अग्ला झोलुगे पुल मध्ये कुश्मा–ज्ञादी झोलुंगे पुलको लम्बाई ३ सय ४४ मिटर रहेको छ । यसैगरी कुश्मा देखि बलेवा क्षेत्र जोड्ने बडागाउँ–कैया झोलुंगे पुल ३ सय ४७ मिटर लामो रहेका छ भने हालसालै निर्माण सम्पन्न कुश्मा–मुडिकुवा झोलुंगे पुल ३ सय ५९ मिटर लामो छ । गहिरो खोँच माथि निर्माण भएका झोलुंग पुल मध्ये कुश्मा–ज्ञादी झोलुंग पुल १ सय ३५ मिटरको उचाईमा छ भने, बडागाउँ–कैया झोलुंग पुल १ सय ५९ मिटर अग्लो छ । यसैगरी कुश्मा–मुडिकुवा झोलुंगे पुलको उचाई १ सय ५८ मिटर ७० सेन्टिमिटर रहेको छ ।





प्रतिकृया दिनुहोस्