२९ माघ, पर्वत । कक्षा १० पछिको उच्च शिक्षा महंगो हुँदा बालविवाह गर्नेको संख्या बढेको छ । कक्षा १० पछिको पढाईमा महंगो शुल्क तिर्नुपर्दा विपन्न वर्गका अभिभावकले छोरा छोरीको विहे गरिदिँदा बालविवाह गर्नेको संख्या बढेको हो ।
एक बर्षको अवधिमा मात्र जिल्लाको चित्रे गाविसमा १३ जनाले वालविवाह गरे । वाल विवाह गर्नेमा सवै दलित समुदायका छोराछोरी छन । चित्रे गाविसका सचिव गोकुल शर्मा भन्छन–‘कक्षा १० पछि उच्च शिक्षा पढाउन आर्थिक समस्या परेपछि अधिकांशले छोरीहरुको विहे गरिदिन्छन ।’ वालविवाह रोक्ने अभियानमा लागेका स्थानीय विद्यालयका शिक्षक मधुसुधन अधिकारीले केहि विद्यार्थीलाई विवाह पछि पनि विद्यालयमा भर्ना हुने वातावरण बनाए पनि अधिकांश भने विवाह पछि रोजगारीको खोजीमा लागेका बताउँछन। अधिकारी भन्छन–‘विहे पछि छोराहरु विदेश जान्छन, छोरीहरु बुहारी बनेर वस्छन ।’ एसएलसि दिएपछि उर्तिण भएका विद्यार्थीलाई समेत शुल्क महँगो भएका कारण अध्ययन भन्दा गृहस्थी जीवन खोज्ने गरेका छन । अधिकारीले थपे –‘केहिले पारिवारिक सहमती विना पनि वालविवाह गरिरहेका छन ।’ केहि बर्ष पहिलासम्म बाह्मण समुदायमा रजस्वला अघि नै कन्यादान गर्दा धर्म हुने विश्वासका कारण बालविवाह हुँदै आएपनि आजभोली बाह्मण समुदायमा बालविवाह रोकिएको उनको तर्क छ । ‘दलित समुदायमा पनि आर्थिक अवस्था कमजोर भएकाहरुले वालविवाह गर्ने गरेका छन’, उनले भने ।
जिल्लाका अधिकांश गाउँहरुमा अझै पनि वालविवाह रहेको भन्दै चेतनामूलक कार्यक्रम भन्दा आयमूलक कार्यक्रम गाउँस्तरसम्म लैजानुपर्ने निमिक्त महिला विकास अधिकृत तारा सुनवार बताउँछिन । जिल्लामा कति जनाले वालविवाह गरे भन्ने तथ्यांक आफूहरुसंग नभएपनि वालविवाह गैर कानूनी हो भन्ने सन्देश गाउँस्तरसम्म लैजानुपर्ने उनको तर्क छ ।
उता, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले वालविवाह तुलनात्मक रुपमा कम हुँदै गएपनि नरोकिएकोले कानूनी उपचार भन्दा बढि चेतनामूलक कार्यक्रममै जोड दिनुपर्ने बताउँछन । वालविवाहका कारण विवाहित महिलाको प्रजनन स्वास्थ्य कमजोर बन्ने भएका कारण त्यसलाई रोक्न राज्यस्तरबाट पनि विभिन्न खालका कार्यक्रम लैजानुपर्ने बताउँछन । वालविवाह सहमतिमै हुने भएका कारण पनि जिल्लामा त्यसको विरुद्धमो उजुरी दिनेको संख्या ज्यादै न्यून रहेको प्रहरी नायव उपरिक्षक शेखर खनालले बताए । जिल्लामा केहि गैर सरकारी र सरकारी निकायहरुले समेत बालविवाह रोक्ने गरी जनचेतनामूलक कार्यक्रमहरु भने सञ्चालन गर्दै आइरहेका छन ।





प्रतिकृया दिनुहोस्