Print

पर्वत कांग्रेसमा आज र भोलि दुई पक्षीय भेला


२७ भदाैं, पर्वत । नेपाली कांग्रेस पर्वतमा १५औँ महाधिवेशनको विषयलाई लिएर दुई दिन लगातार छुट्टाछुट्टै भेला आयोजना हुने भएका छन्।

पार्टीको जिल्ला कार्यसमितिले जारी गरेको पत्रअनुसार आज भदौ २७ गते जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, पूर्वसभापति तथा पूर्वपदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति तथा पालिका सभापतिसहितका नेताकार्यकर्ताको भेला बोलाइएको छ।


जिल्ला सभापति युबराज जोशीले जारी गरेको पत्रमा नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको सन्दर्भमा जिल्ला कार्यसमितिको बैठक बसी महत्वपूर्ण निर्णय गर्नुपर्ने भएकाले भेला आयोजना गरिएको उल्लेख छ। भेला बिहान ११ बजे वीपी स्मृति भवन, कुश्मा पर्वतमा हुने जनाइएको छ।


यसैबीच, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य यमबहादुर मल्ल ‘रामकृष्ण’ले भोलि भदौ २८ गते पनि पार्टीका नेता तथा कार्यकर्तासँग छुट्टै छलफल कार्यक्रम आयोजना गरेका छन्। मल्लले सामाजिक सञ्जालमार्फत होटल फ्रेन्डली कुश्मामा बिहान ११ बजे छलफलका लागि उपस्थित हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई आह्वान गरेका हुन्।


मल्लले १५औँ महाधिवेशनको फरक–फरक कार्यतालिका र विशेष महाधिवेशनपछि उत्पन्न विवादले कांग्रेसभित्र असहमति र अन्योल देखिएको भन्दै संवाद र छलफलबाट निकास खोज्नुपर्ने बताएका छन्। उनले विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा दुईतर्फबाट अधिवेशन प्रक्रिया अघि बढे पनि त्यो दुईवटा कांग्रेस नभई एउटै कांग्रेसभित्रको असहज परिस्थिति भएको उल्लेख गरेका छन्।


उनले कांग्रेस कुनै एक व्यक्तिको नभई सबै कांग्रेसजनको साझा पार्टी भएको भन्दै व्यक्तिभन्दा पार्टी ठूलो रहेको बताएका छन्। गुट, भागबण्डा र व्यक्तिपूजाभन्दा माथि उठेर संगठन बलियो बनाउनुपर्ने उनको भनाइ छ।


मल्लले आगामी निर्वाचनमा टिकट प्राप्त गर्न चाकडी, गुलामी वा शक्तिको ढोका धाउनुपर्ने अवस्था अन्त्य गर्दै गाउँ–गाउँमा संगठन र जनताका लागि काम गरेका योग्य, सक्षम तथा जित्न सक्ने कार्यकर्तालाई अवसर दिने संस्कार विकास गर्नुपर्नेमा जोड दिएका छन्।


पार्टीभित्र देखिएको विवादका बीच जिल्ला कार्यसमितिको औपचारिक आह्वानमा आज हुने भेला र मल्लको आह्वानमा भोलि हुने छलफललाई पर्वत कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिका रूपमा हेरिएको छ।

दुई दिन लगातार हुने भेलामा जिल्लाका नेता तथा कार्यकर्ताले महाधिवेशन, पार्टीको आधिकारिकता र आगामी राजनीतिक रणनीतिबारे धारणा राख्ने अपेक्षा गरिएको छ।