२७ भदाैं, पर्वत । मोदी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्नुपूर्व आवश्यक तयारी तथा प्रगतिको अवस्थाबारे प्रदेशस्तरीय अनुगमन गरिएको छ।
प्रदेशस्तरीय अनुगमन टोलीले मोदी गाउँपालिकामा बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि भएका गतिविधि, पूरा भएका सूचक, बालबालिकाको अधिकार संरक्षण तथा सहभागिताको अवस्था र बाँकी रहेका कामको प्रगतिबारे स्थलगत अनुगमन तथा समीक्षा गरेको हो।
गाउँपालिकाले बालमैत्री स्थानीय शासनलाई अभियानका रूपमा अघि बढाउँदै वडास्तरबाटै आवश्यक सूचक पूरा गर्ने कामलाई प्राथमिकता दिँदै आएको छ। गाउँपालिकाको अभिलेखअनुसार यसअघि वडा नं. ४ र वडा नं. ७ लगायतका वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकिएको छ।
गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले बालबालिकाको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएकाले बालमैत्री शासनलाई औपचारिक घोषणामा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्ने बताइन्। बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता र विकासका क्षेत्रमा पालिकाले निरन्तर काम गरिरहेको उनको भनाइ छ।
उपाध्यक्ष बिमल लामिछानेले बालमैत्री स्थानीय शासन घोषणाले पालिकाको विकास प्रक्रियामा बालबालिकाको सहभागिता र अधिकारलाई थप संस्थागत गर्ने बताए। घोषणाका लागि आवश्यक तयारीमा जनप्रतिनिधि, कर्मचारी, विद्यालय, बाल क्लब, अभिभावक तथा समुदायको सहकार्य महत्वपूर्ण रहेको उनको भनाइ छ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले घोषणाका लागि आवश्यक सूचक तथा प्रक्रियालाई व्यवस्थित रूपमा पूरा गर्ने काम भइरहेको बताए। प्रदेशस्तरीय अनुगमनबाट प्राप्त सुझावलाई समेत समेट्दै बाँकी तयारीलाई अघि बढाइने उनले बताए।
मोदी गाउँपालिकाका सबै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकेपछि पालिकास्तरीय घोषणा गर्ने तयारी गरिएको छ। त्यसका लागि वडागत उपलब्धि, आवश्यक सूचकको अवस्था र बाँकी कामको पुनरावलोकन भइरहेको गाउँपालिकाले जनाएको छ।
बालमैत्री स्थानीय शासनको अभियानले बालबालिकालाई विकासका लाभग्राही मात्र नभई स्थानीय विकास प्रक्रियाका सक्रिय सहभागीका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। मोदीमा पछिल्ला वर्षहरूमा वडा तहबाट अघि बढाइएको यो अभियान अब समग्र गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्ने चरणमा पुगेको छ।
पालिकाको वेबसाइटमा समेत हाल बालमैत्री स्थानीय शासनयुक्त वडा तथा बालश्रममुक्त वडा घोषणासम्बन्धी सूचना प्रकाशित गरिएको छ, जसले अभियानलाई अन्तिम चरणमा पुर्याइएको संकेत गर्छ।




