१८ साउन, पर्वत । नेकपा (एमाले) पर्वतले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै ‘मिसन पार्टी जागरण’ अभियान सुरु गरेको छ। पछिल्लो मध्यावधि निर्वाचनमा अपेक्षाभन्दा कम मत प्राप्त भएको समीक्षा गर्दै जनतासँगको सम्बन्ध थप सुदृढ बनाउने, पार्टीप्रतिको विश्वास पुनःस्थापित गर्ने तथा संगठनलाई जनमुखी बनाउने उद्देश्यसहित अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत आइतबार कुश्मा नगरपालिका, फलेवास नगरपालिका र जलजला गाउँपालिकामा पालिका कमिटीका विस्तारित बैठक सम्पन्न भएका छन्। बैठकले स्थानीय तहमा सञ्चालन गरिने अभियानका कार्ययोजना तयार गर्दै जनतामाझ पुग्ने, नागरिकका गुनासा र सुझाव संकलन गर्ने तथा संगठनलाई थप सक्रिय बनाउने निर्णय गरेको छ।
बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य पदम गिरीले पार्टीले अब आत्मसमीक्षासहित जनतामाझ जाने समय आएको बताए। उनले विगतका कमी–कमजोरीबाट पाठ सिक्दै जनताको विश्वास जित्ने गरी व्यवहार र कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिए।
उनले ूराजनीति जनताका लागि हुनुपर्छ। कमी–कमजोरीबाट सिक्नुपर्छ। जनताका लागि राज्य र राजनीति जिम्मेवार बन्नुपर्छ। जनताका कुरा सुन्नुपर्छ,ू भन्दै जिम्मेवारीमा रहेका नेताले अरूमाथि दोष थोपर्ने वा गालीगलौज गर्ने होइन, काम गरेर परिणाम देखाउनुपर्ने धारणा राखे। प्रश्नको केवल मौखिक जवाफ नभई व्यवहार र विकासका कामबाट उत्तर दिनुपर्ने उनको भनाइ थियो।
गिरीले अभियानको मूल मर्म ूजागौँ, सत्य–तथ्य बुझौँ, नबुझेकालाई बुझाऔँ र गलत बुझेकालाई सत्य बुझाऔूँ रहेको उल्लेख गर्दै पार्टीलाई पुनः जनताको भरोसाको केन्द्र बनाउन प्रत्येक नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।
एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले अभियान केवल संगठनात्मक कार्यक्रम नभई जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान भएको बताए। उनले जनप्रतिनिधि र पार्टीका नेता–कार्यकर्ताले गरेका राम्रा तथा जनमुखी कामको समीक्षा गर्ने, सुधार गर्नुपर्ने पक्षहरूको सूची तयार गर्ने तथा नागरिकका सुझाव संकलन गरेर पार्टीको भावी कार्यदिशा तय गरिने जानकारी दिए।
उनका अनुसार अभियानका क्रममा स्थानीय तहमा भएका विकास निर्माण, सेवा प्रवाह र जनअपेक्षाका विषयमा खुला छलफल हुनेछ। जनताले उठाएका गुनासा, सुझाव र अपेक्षालाई दस्तावेजीकरण गरी पार्टीको नीति तथा कार्यक्रमसँग जोडिनेछ।
एमालेको केन्द्रीय कमिटीले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै देशभर ‘मिसन जागरण’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अभियानमार्फत गत निर्वाचनको समीक्षा, पराजयका कारणहरूको विश्लेषण, जनतासँगको सम्बन्ध सुधार तथा संगठन सुदृढीकरणलाई प्राथमिकता दिइएको छ। यसका लागि पार्टीले ‘६ ज’ को अवधारणा अघि सारेको छ, जसअन्तर्गत जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसंगठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमतका आधारमा सक्षम नेतृत्व तयार गरौँ भन्ने कार्यदिशा तय गरिएको छ।
जिल्ला कमिटीका अनुसार अभियानलाई जिल्लाभर विस्तार गर्ने क्रममा मंगलबार बिहादी गाउँपालिकामा पालिका कमिटीको बैठक बस्नेछ। त्यसपछि पैयूँ गाउँपालिका र महाशिला गाउँपालिकामा पनि क्रमशः बैठक आयोजना गरी अभियानलाई जिल्लाका सातवटै स्थानीय तहमा विस्तार गरिने जनाएको छ। अभियानबाट प्राप्त सुझाव, जनमत र कार्ययोजनाका आधारमा संगठन सुदृढीकरणसँगै जनविश्वास पुनःआर्जन गर्ने एमाले पर्वतको तयारी रहेको छ।




