१५ साउन, पर्वत । जिल्लामा कुल २८ हजार ५९१ हेक्टर जमिन खेतीयोग्य रहेको तथ्यांक सार्वजनिक भएको छ। यो जिल्लाको कुल क्षेत्रफलको १.१३ प्रतिशत हो।
राष्ट्रिय तथ्यांक कार्यालयको विवरणअनुसार खेतीयोग्य जमिनमध्ये २४ हजार १७१ हेक्टरमा खेती भइरहेको छ, जुन खेतीयोग्य जमिनको ८४.४४ प्रतिशत हो। बाँकी ४ हजार ४२१ हेक्टर जमिन बाँझो रहेको छ। खेतीयोग्य जमिनको १५.४६ प्रतिशत हिस्सा बाँझो रहेको तथ्यांकमा उल्लेख छ।
खेती भइरहेको जमिनमध्ये सिञ्चित जमिन ९ हजार ७०७ हेक्टर रहेको छ। यो खेती गरिएको कुल जमिनको ३१.७२ प्रतिशत हो। त्यस्तै, खेती गरिएको जमिनमध्ये ६ हजार ४२० हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा रहेको छ। यो खेती गरिएको जमिनको २०.७८ प्रतिशत हो।
त्यसैगरी २ हजार ६५० हेक्टर जमिनमा मौसमी सिँचाइ सुविधा रहेको छ, जुन खेती गरिएको जमिनको ११.२१ प्रतिशत हो।
तथ्यांकले जिल्लामा ठूलो हिस्सा कृषि योग्य जमिन रहे पनि त्यसको पूर्ण उपयोग हुन नसकेको देखाएको छ। विशेषगरी खेतीयोग्य जमिनको करिब १५ प्रतिशत बाँझो रहनुले कृषि उत्पादन बढाउन सिँचाइ, श्रम, प्रविधि र बजार व्यवस्थापनमा थप ध्यान दिनुपर्ने अवस्था देखिन्छ।




