१८ फागुन, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पूर्वाधारका काहरु अघि बढेका छन् । कतिपय गाउँपालिका तथा नगरपालिकाहरुले रोजगारका कार्यक्रमलाई सरसफाईको काममा खर्च गरे पनि मोदी गाउँपालिकामा भने पूर्वाधार निर्माणमा जोड दिइएको छ ।
अघिल्लो बर्ष ११० ले रोजगार पाएका मोदीमा यस बर्ष ६० जनाले रोजगारी पाएका छन् । चालु आर्थिक बर्षमा संघीय सरकारको ५१ लाख ४० हजार र गाउँपालिकाको १२ लाख साझेदारीको रकम प्रधानमन्त्री रोजगार कार्यक्रममा खर्च हुँदैछ । यस बर्ष ८ वटाहरु मध्ये ६ वटा वडाहरुले कार्यक्रमको सम्झौता भइसकेको रोजगार संयोजक अनमोल क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीका अनुसार मोदीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गईरहेको छ । साझेदारीको समेत रकम जोड्ने काम भईरहेको मोदीमा रोजगारी प्राप्त गरेका मानिसहरुले सडकमा ढलान, गोरेटो बाटो र सोलिङको काम गरीरहेको संयोजक क्षेत्रीले जानकारी दिए ।
सरकारले देशभरका सवै पालिकाहरुमा यो कार्यक्रम लागू गरेको छ । कार्यक्रम अन्तर्गत प्रत्येक बर्ष बेरोजगार युवाहरुले रोजगारीका लागि स्थानीय तहमा आवेदन गर्नुपर्छ ।




