Print

बागलुङमा प्रहरीको हत्या गर्ने आमा छोरा कारागार चलान


८ भदौ, बागलुङ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेलको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमा छोरालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको जिल्ला अदालत ९बागलुङ० का श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिए ।

कुँवरको होटलमा खाजा खान गएका वरिष्ठ प्रहरी नायब निरीक्षक पौडेल गत साउन ८ गते राति होटलमै मृत फेला परेका थिए । होटलमा मृत फेला परेका पौडेलको हत्या भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले होटल सञ्चालक कुँवर र उनका छोरालाई सोही दिन पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धानबाट इन्चार्ज पौडेल आशा होटल एन्ड खाजाघरमा गएको र होटलमा सञ्चालक आशा कुँवरसँग विवाद भएपछि आमा छोराले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए । विवादका क्रममा आमा छोरा मिलेर पौडेललाई गम्भीर तरिकाले कुटपिट गरी सलले पासो लगाएर हत्या गरेको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको उनले बताए ।

पौडेलले घाँटीमा लगाएको सुनको सिक्रीसमेत लुटेर लुकाएको अनुसन्धानबाट खुल्न आएको छ । उक्त सिक्री होटलको भान्छामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।