२३ पौष, पर्वत । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सम्पन्न भएको एक महिना भन्दा बढि भईसकेको छ । निर्वाचन सम्पन्न भएसंगै संघीय सरकार गठन भएको छ भने प्रदेश सरकारहरु गठन हुने क्रममा रहेका छन् । निर्वाचन सम्पन्न भएपछि निर्वाचनको विषयमा समिक्षा गर्न यस आज नेकपा एमाले जिल्ला कमिटिको वैठक आब्हान भएको छ । हिजो एमालेको सचिवालय वैठकले आज प्रस्तुत हुने एजेण्डा उपर छलफल गरेको छ । राती अवेरसम्म बसेको एमाले वैठकले सचिवालय स्तरमा समेत निर्वाचनको समिक्षा सम्पन्न गरेको हो । निर्वाचनको समिक्षाका लागि यस अघि एमालेले वडा र पालिका स्तरहरुमा वैठकहरु सम्पन्न गरेको छ । आज बस्ने जिल्ला कमिटि वैठकले थप छलफल गरी आगामी कार्ययोजना निर्माण गर्ने एमाले श्रोतले जनाएको छ ।
उता, माओवादी केन्द्र समिक्षा वैठक पनि सम्पन्न भएको छ । यहि साता जिल्ला समन्वय समितिको वैठक बसी निर्वाचनको समिक्षा माओवादीले गरेको छ । वडा र पालिका स्तरहरुमा समेत निर्वाचनको समिक्षा सम्पन्न भएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले प्रदेश सभामा उमेदवार उठाए पनि जीत हासिल गर्न सकेको थिएन । प्रतिनिधि सभा र अर्को प्रदेश सभामा भने कांग्रेस उमेदवारलाई माओवादीको समर्थन रहेको थियो ।
जिल्ला कमिटि वैठकबाट वडा र पालिका स्तरमा समिक्षा गरी प्रतिवदेन पेश गर्न कार्य दल गठन गरेको कांग्रेसको अर्को जिल्ला कमिटि वैठक भने अझै पनि बस्न सकेको छैन् । निर्वाचनका गठबन्धन गरेर जाँदा पनि परिणाम आफ्नो हातमा नपरेपछि कांग्रेस कठोर आत्म समिक्षा सहितको वैठक बस्ने तयारीमा रहेको छ । अधिकांश वडाहरुको समिक्षा वैठक सकिए पनि सवै प्रतिनिधिहरुले लिखित प्रतिवेदन उपलब्ध नगराए पछि वैठक अन्यौल भएको कांग्रेस श्रोतले जनाएको छ ।
निर्वाचनमा ३ वटै सिट जितेको एमाले केन्द्रिय कमिटिबाट समेत पुरस्कृत भएको छ । उता, कांग्रेस र माओवादीले भने सवै सिट गुमाएका कारण त्यसको खोजी गर्न समिक्षा वैठक राख्नुपर्ने कार्यकर्ताको चर्को दबाब छ । वैठकमा प्रस्तुत हुने एजेण्डा र निर्वाचनको परिणाम हात पार्न नसक्नुको कारणको विषयमा कांग्रेस जिल्ला कमिटिले गर्ने निर्णय महत्वपूर्ण हुने देखिन्छ ।




