२३ पौष, पर्वत । जिल्ला भरका घरधुरीमा एक घर एक धारा अभियान यस अघिका प्रदेश र संघीय सरकारको नारा थियो । जिल्लाबाट निर्वाचित प्रदेश र प्रतिनिधि सभाका सांसदहरुले यो विषयलाई मुख्य एजेण्डा बनाएका थिए । त्यहि योजना पर्वतको शंकरपोखरीमा पुरा हुँदैछ । पुस्तौंदेखि खानेपानीका लागि कष्ट भोग्दैआएका फलेवास नगरपालिका–३ शंकरपोखरीबासीको सपना अब छिट्टै पुरा हुने भएको हो । लमायखोलाबाट करिव ७०० मिटर उचाईंमा लिफ्टिङ गरि मैदानस्थीत लिमिकोटमा पानी ल्याइएपछि फलेवासको २ र ३ नम्बर वडाका १३ सय ४१ घरधुरीमा पानी बितरण प्रकृया शुरु हुने भएको छ ।
तत्कालीन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ नेतृत्वमा शुरु भएको योजना अहिले सम्पन्न हुने तयारीमा रहेकोछ । सांसद पदम गिरीले जिल्लाका सवै घरधुरीमा स्वच्छ पिउनेपानी सहितको एक घर एक धारा अभियान सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आयोजनाहरु सञ्चालनका लागि तदारुकता देखाएका थिए ।
शंकरपोखरीमा निर्माण सम्पन्न भएको आयोजनाको प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले लमायखोलास्थीथ दुरबुटीमा रहेको पानीका लागि जडान गरिएको विद्युत मिटरको स्वीच दबाएर मैदानस्थीत कोटमा पानी खसालेर खोलाको पानी शंकरपोखरीमा ल्याउने प्रकृया शुरु गरेका छन् । आयोजनाको ट्याङ्की निर्माण, विद्युतिकरण, मुख्य पाइपलाइन बिस्तार लगायतको काम पुरा भएसंगै मंगलबार लमायखोलाको पानी मुख्य ट्याङ्कीमा परिक्षणका लागि खसालिएको हो ।
आर्थिक वर्ष २०७५/०७६ देखि शुरु भएको आयोजनाको १८ करोड ८८ लाख ८५ हजार रुपैया लागत स्टमेट गरिएको छ । आयोजनाबाट पाँच हजार ७२ उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अन्तर्गतको इकाई कार्यालय कुश्माका प्रमुख इन्जिनियर शिवकुमार शाहले जानकारी दिए । उनका अनुसार हालसम्म चार करोड तीन लाख रुपैया मात्र खर्च भएको छ । आयोजनाको भौतिक तथा बित्तिय प्रगति २१.३४ भएको र बाकी काम गर्न बजेट अभाव भएको इन्जिनियर शाहले जानकारी दिएका छन् ।
प्रदेश सरकारको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले २०७५ फागुनमा लमायखोला लिफ्ट खानेपानी आयोजना शुरु गरेको थियो । बजेट अभावका कारण उक्त आयोजनाको पानी पनि बस्तीसम्म ल्याउन समस्या परेको थियो । विद्युत प्राधिकरण लगायतका बिभिन्न निकायसंग समन्वय र सहकार्य गरि काम अघि बढाउनुपर्ने भएकोले आयोजनाको काम केहि ढिलाई भएको उपभोक्ता समितिले जनाएको छ । लमायखोलाको पानी मैदानमा ल्याएर घरघरै बितरण हुने भएपछि पुस्तौंदेखिको समस्या सहज हुने भन्दै उपभोक्ताहरु खुशी भएका छन् ।




