१७ पौष, पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले राष्ट्रियता चिनाउनका लागि खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । कुश्मा नगरपालिकाको दुर्लुङमा आयोजीत ल्होसार मेलाको समापनको अवसरमा बोल्दै सांसद गिरीले खेलाडीहरुका कारण राष्ट्रको गरिमा बढ्ने र राष्ट्रियता थप परिचित हुने कुरा उल्लेख गरेका हुन् ।
उनले खेलाडीहरु विश्वभर परिचित हुने हुँदा उनीहरुका माध्यमबाट देशको परिचय विश्व ब्यापी हुने कुरा उल्लेख गरे । खेलाडीले देशको गरिमा सधैँ उचो राखेता पनि नेपालमा भने खेलाडीहरुको मनोभावना सरकारले बुझन नसकिरहेको बताए । उनले खेलाडीहरुलाई राज्यले दिनुपर्ने सहयोग, मर्यादा र हौसलामा अझै पनि कमी भएको बताए ।
४ दिनसम्म सञ्चालन भएको मेलामा खुल्ला भलिबल प्रतियोगीताको आयोजना गरिएको थियो । प्रतियोगीताका विजयी टिमलाई पुरस्कार प्रदान गर्दै गिरीले खेलले मानिसको शारीरिक र मानसिक अवस्थाको सुधारमा सहयोग पुग्ने भन्दै स्वास्थ्यका लागि खेल भन्ने नारा सवै युवाहरुले ग्रहण गर्नुपर्ने धारणा समेत राखे । मेलाको आयोजना स्थानीय भूपू गाइजले गरेको थियो ।