१६ पौष, पर्वत । पाल्पा जिल्लाको प्रसिद्ध रानीमहल हेर्नका लागि सोच्दै हुनुहुन्छ भने कुश्मा देखि कम्तिमा २ दिनको यात्रा तय गर्नुपर्ने हुन्छ । कुश्मा देखि पोखराको ५७ किलोमिटर यात्रा र त्यस पछि पोखरा देखि वालिङ हुँदै मिर्मिसम्मको ११० किलोमिटर यात्रा गर्नुपर्छ । मिर्मिदेखि थप १२ किलोमिटर यात्रा पछि रानीमहल पुगिन्छ । अर्को गतब्य पाल्पाको तानसेनबाट १३ किलोमिटरको यात्रामा पनि रानीमहल पुग्न सकिन्छ ।
सडक सञ्जालको विस्तारसंगै अव भने नयाँ ट्रयाक्क खुलेको छ । कुल १७९ किलोमिटरको दुरी पार गर्दा कुश्मा देखि रानीमहल पुग्न सकिने सडकको दुरी अव ७३ किलोमिटरमा सिमित भएको छ । पर्वतको कुश्मा देखि अव झण्डै ७३ किलोमिटरको यात्रा गरेपछि पाल्पाको प्रसिद्ध रानीमहल पुग्न सकिन्छ । २ दिन लाग्ने दुरी अव छोटिएर नयाँ ट्रयाकबाट १ दिनमा झरेको छ । १ दिनकै यात्रामा रानीमहलको अवलोकन गरी कुश्मा फर्कन सकिनेछ ।
खड्गशमशेरले रानी तेजकुमारीको सम्झनामा १९५४ सालमा प्रेमको प्रतीकका रूपमा रानीमहल दरबार बनाएका थिए । रानी तेजकुमारीले मृत्युअघि १९४९ सालमा हालको स्थान रानीघाट क्षेत्रमा प्रेमको प्रतीकका रूपमा भव्य महल बनाउन इच्छा व्यक्त गरेकी थिइन । रानीको चाहनाबमोजिम खड्गशमशेरले कालीगण्डकीबाटै जग उठाएर बेलायती शैलीमा तेजमहल निर्माण गरेका थिए ।

करिब ११ रोपनी क्षेत्रफलमा रहेको रानीमहल दरबारमा २४ वटा कोठा छन् । अलंकारयुक्त ग्रिक शैलीका खम्बा, त्रिकोणात्मक छाना एवं गुम्बज आकारका झ्याल, नियो क्लासिकल स्थापत्यकला शैलीमा दरबार निर्माण गरिएको छ । दरबार पछिल्लो समयमा युवा पिढिका माझ आकर्षण गतब्य स्थल बन्दै गएको छ ।
यो स्थानमा पुग्नका लागि अव कुश्मा बजारबाट कालीगण्डकी लोकमार्ग सडक प्रयोग गर्न सकिन्छ । निर्माणधिन कालिगण्डकी लोकमार्ग प्रयोग गर्दा बढिमा ७३ किलोमिटर दुरी पार गर्दा रानीमहलमा पुग्न सकिन्छ ।
कुश्मा बजारबाट बडागाउँ हुँदै मोदीवेनीको मोटरेवल पुल तरे पछि फलेवासको मुडिकुवा हुदै चिर्दिखोला तरेर पाङराङ पुगिन्छ । निर्माणधिन लमायखोला पुल निर्माण सम्पन्न भएपछि यो दुरी अझै छोटो पर्नेछ । अहिलेका लागि मोटरेवल पुल निर्माण सम्पन्न नभएका कारण चिर्दिखोलाको पुल प्रयोग गर्नुपर्नेछ ।
पाङराङ देखि बाच्छा, बरौचौर रानीपानी हुँदै करिब ५५ किलोमिटरको दुरी सेतीवणीमा पुगिन्छ । यो खण्डमा अधिकांश भाग कालोपत्रे भएको छ । कुश्मा देखि मुडिकुवाको भाग र पाङराङ खण्ड कालोपत्रे हुन बाँकी छ । सेतीवेणीबाट सेतीखोला पुल तरेपछि ७ किलोमिटरको दुरीमा स्याङजाको मिर्मि पुगिन्छ । त्यहाँबाट झण्डै १२ किलोमिटरको दुरीमा रहेको रानीघाटमा पुग्न ९ किलोमिटर पक्कि सडक र २ किलोमिटर कच्चि सडकको यात्रा गर्नुपर्छ ।
झण्डै ७३ किलोमिटरको यात्रा पछि प्रसिद्ध रानीघाट अर्थात रानीमहल पुग्न सकिन्छ । एकै दिनको यात्रामा कुश्मा देखि रानीमहलको अवलोकन गरी पुनः कुश्मा फर्किनसक्ने भएका कारण यो खण्डको दुरी रानीमहल अवलोकनका लागि उपयुक्त हुने भएको छ । सेतीवणी देखि मिर्मिसम्मको सडकको स्तरोउन्नती गर्ने काम भईरहेका कारण केहि बर्षमा यो खण्डको सम्पूर्ण काम पुरा हुँदा केहि घण्टामै कुश्मा देखि रानीमहलको यात्रा सफल हुनेछ ।
रानीमहल देखि करिब १३ किलोमिटर दक्षिण लागेपछि भने पाल्पाको तानसेन पुग्न सकिन्छ ।
रानीमहलको महत्व
१९५० सालमा शिलान्यास गरी १९५४ सालमा कालिनदिको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर बनाइएको छ नेपालको ताजमहल। यहि स्थानमा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ।

१९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र ग–यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाए । चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथी आफ्नो हातमा लिए । आफूमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ। तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्व पाउने गरेको छ।
प्रणय दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतिक्षा गर्नेहरुको भीड लाग्ने गर्दछ । दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अजर अमर रहने जन विश्वास छ । त्यसैले होला भित्तामा आफ्नो नाम लेख्नेहरुको निकै होडबाजी पनि चल्ने गर्दछ । नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई युवायुवतीमात्र होईन सच्चा प्रेमको प्रतिक बन्ने गरेको छ ।




