६ मंसिर, पर्वत । केहि महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा फलेवास नगरपालिकाका उमेदवार गंगा तिवारीको घोषणा थियो– नगरको सेवा सुविधा नलिने । उनको प्रचार सामाग्रीहरुमा लेखिएको थिए– नगरप्रमुखको सम्पूर्ण सेवा सुविधा नगरबासीकै हितमा, हजुर र हाम्रो अमूल्य भोट गंगाधर तिवारीको जीतमा । नारा अनुसार तिवारीले फलेवास नगरपालिकाको नगरप्रमुख पदमा विजय हासिल गरे । नगरप्रमुखमा निर्वाचित तिवारीले पदभार ग्रहण कार्यक्रममा पत्रकार माझ नगरको कुनै पनि सुविधाहरु आफूले नलिने घोषणा गरेका थिए । राज्यश्रोतको चरम दोहन जनप्रतिनिधिहरुले गरीरहेका छन् भन्ने आम बुझाइका वीच तिवारीको घोषणाले जिल्ला भर तरंग ल्यायो । उनले आफूले प्रयोग गर्ने सवारीलाई एम्बुलेन्सको रुपमा नगर भित्र प्रयोग गर्ने घोषणा गरे । तलब सुविधा, भत्ता तथा नगरको मोवाईल सेट समेत आफूले प्रयोग नगर्ने कुरा सार्वजनिक गरे ।
तिवारी नगरप्रमुख पदमा निर्वाचित भएको ८ महिना पछि भने घोषणाको विषय अलग भएको छ । मंगलबार नगरपालिकाको कार्यालयमा आयोजीत पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता तथा वडा न ४ का वडाअध्यक्ष अच्चुत तिवारीले अव देखि नगरपालिकाको सवारी नगरप्रमुखले प्रयोग गर्ने संकेत गरेका छन् । उनले पत्रकार सम्मेलन मार्फत नगरप्रमुखले सवारी प्रयोग नगर्दा नगरपालिकाको काममा झझण्ड भएको बताए । उता, नगरप्रमुख तिवारीले मन्त्रालयमा छिर्दा देखि ट्राफिक ब्यवस्थापनमा समेत नीजि सवारीले गाहे हुने भएकाले आफूले नगरको सवारी प्रयोग गर्ने संकेत गरेका छन् । तलब सुविधा अक्षय कोष बनाउने बताउँदै तिवारीले नगरको सवारी प्रयोग गर्न आफूलाई दबाब आएको घुमाउरो भाषा प्रयोग गरे । जिल्ला बाहिर जाँदा तिवारीले अहिले पनि नगरकै सवारी प्रयोग गरेको कर्मचारी श्रोतको दावी छ ।
तिवारीले आफूले पाउने सवारी सुविधा स्वास्थ्य चौकीमा एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेपनि हालसम्म त्यो लागू भएको छैन् । बरु नगरपालिकाले नगर स्तरीय नयाँ एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ ।
नगरमा छैनन नयाँ योजना
मंगलबार पत्रकार सम्मेलनमा प्रवक्ता तिवारीले झण्डै २ दर्जन योजनाहरु यो अवधिमा नगरपालिकामा अघि बढेको दावी गरेका छन् । उनले क्रमागत आयोजनाहरुको निरन्तरतालाई उपलब्धी भनेर सार्वजनिक गरे पनि फलेवास नगरपालिकाको नयाँ गौरबका आयोजनाहरु भने उल्लेख थिएनन् । विगत देखि सञ्चालन भईरहेका क्रमागत आयोजनाहरु, सडक, कृषि, शिक्षा र पूर्वाधार तर्फको निरन्तरतालाई नगरपालिकाले उपलब्धि मानेको छ । तिवारीले भने सञ्चालीत आयोजनाहरुमा धेरै काम नयाँ रहेको जिकिर गरेका छन् । पत्रकार सम्मेलनमा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको उपस्थिती थिएन् ।
कार्यपालिका सदस्यलाई झुक्काएर माइन्यूट तयार
नगरपालिकाका बहुमत सदस्यहरुलाई झुक्काएर नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नक्कली माइन्युट तयार पारेको यस अघि नै नगरपालिकालाई आरोप लागेको छ । नगरपालिकाका बहुमत सदस्यहरुले कार्यपालिकामा आफूहरुले गरेको निर्णय भन्दा धेरै निर्णयहरु माइन्युटमा लेखेको भन्दै माइन्युट कब्जामा लिएका थिए । निर्णय पुस्तिका कब्जामा लिएर उनीहरुले जिल्ला प्रशासन कार्यालयमा लगेर पुस्तिका बुझाएका थिए । कार्यपालिका सदस्यहरु र नगरप्रमुख वीच टकराबको अवस्था निरन्तर देखिएको छ ।
कार्यपालिकाको निर्णय बाहेकको योजनाहरु नगरप्रमुख र प्रशासकीय अधिकृतको मिलेमोतोमा भइरहेको नगरकार्यपालिका सदस्यहरुले आरोप लगाउदै आइरहेका छन् । केहि दिन अघि मात्र नगरकार्यपालिकाको वैठकमा जनप्रतिनिधिहरु वीच भएको विवादको भिडियो समेत सार्वजनिक भएको थियो ।