८ जेठ, पर्वत । जिल्ला भरका नगरप्रमुख तथा अध्यक्षहरुको लागि कुश्मामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो । ७ पालिकाका प्रमुख तथा अध्यक्षले सपथ खाएपछि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी नीजि गाडिमा हुंकिए । सरकारी सुविधा प्रयोग नगर्ने यस अघिको घोषणालाई निरन्तरता दिदै उनी आफ्नो नीजि गाडीमा नगरपालिकाको कार्यालयमा पुगे । उनी कार्यालयमा पुग्दा कर्मचारीहरु उनलाई स्वागत गर्न लामबद्द भएका थिए । दुवोको माला र खादा सहित प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले उनलाई स्वागत गरे ।

पहिलो पटक असफल भएको निर्वाचनमा तिवारीले दोस्रो पटक सफलता प्राप्त गरेका हुन् । दोस्रो प्रयासमा मेयर पद जितेका तिवारी गम्भिर मुद्रामा आफ्नो कार्य कक्षमा छिरे । उनी कार्यकक्षमा छिर्दा उनको सचिवालयले धार्मिक विधि अनुसारको पदभार ग्रहणको तयारी गरेको थियो । शास्त्रीय मन्त्र उच्चारण सहित बैद्धिक विधि अनुसारको पुजापाठ पछि तिवारीले पदभार ग्रहण गरे । आफूले पदभार ग्रहण पछि उपप्रमुख र नगर सभा सदस्यहरुलाई सपथ ग्रहण गराए ।
मेयर पदको उमेदवार बने देखि नै आफूले सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका तिवारीले पत्रकारसंग सक्षिप्त प्रतिक्रिया दिदै आफ्नो पूर्ववर्ति निर्णय यथावत रहेको जानकारी गराए । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले कार्यालयको अफिसियल नम्बर भएको मोवाईल फोन दिए, तर तिवारीले सिम कार्ड लिए मोवाईल फोन कार्यालयलाई नै फिर्ता गरे ।
तिवारीले आफूले नगरपालिकाले उपलब्ध गराउने सवारी प्रयोग नगर्ने घोषणा गरेका छन । उनले सवारी साधनलाई कुनै स्वास्थ्य चौकीमा एम्बुलेन्सको रुपमा प्रयोग गर्ने तयारी समेत गरेका छन् । उनले आफूले प्राप्त गर्ने सुविधाको रकमलाई उद्धार कोषमा परिणत गर्ने समेत घोषणा गरेका छन् । आफ्नो रकम समेत थप गरी उद्धार कोष बनाउने र विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने उनले जानकारी दिए ।
आफू आर्थिक उपार्जनको लागि राजनीति नगरेको भन्दै उनले सरकारी सेवा सुविधाहरु जनताले नै प्रयोग गर्नपाउनुपर्ने धारणा राखे । पदभार ग्रहण पछि उनले आफू शासक नभई जनताको सेवक बन्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन् ।
आजको अर्थ वीट साप्ताहिकमा खबर छ




