१४ असोज, पर्वत । आगामी मंसीर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पर्वत जिल्लाका दुई प्रदेश निर्वाचन क्षेत्रमा माओवादी र समाजवादीको दावी देखिएको छ । गठबन्धनको सिट बाँडफाँडमा भईरहेको छलफलमा माओवादीले प्रदेश सभा १ र समाजवादीले प्रदेश सभा २ मा आफूले पाउनुपर्ने भन्दै सिट बाँडफाँडमा प्रस्ताव गरेका छन् । जिल्लामा निकै कमजोर धरातलमा रहेका दुई साना पाटीहरुले प्रदेश सभाका दुवै सिटमा दावी गरेपछि नेपाली कांग्रेसको उपस्थिती प्रदेश सभामा निल हुने संकेत देखिएको छ ।
यस अघि बाम तालमेलमा समेत प्रदेश सभा १ माओवादीको भागमा परेका कारण प्रदेश सभा १ माओवादीको लगभग निश्चित छ । कांग्रेसले प्रदेश सभामा प्रत्यक्ष तर्फ आफूले पनि १ सिट पाउनुपर्ने अडान नछोडेका कारण प्रदेश सभा २ अझै टुंगिएको छैन् । समाजवादी पाटीले स्थानीय तहको निर्वाचनमा जिल्ला भर १ वडा सदस्य मात्र जितेको थियो ।
गठबन्धनमा सहभागी भए पछि केहि वडाहरुमा वडा अध्यक्ष सहित नगर तथा गाउँमा प्रमुख र उपप्रमुख समेतको उमेदवारी दिएको थियो । गठबन्धनले धोका दिएको निश्कर्ष सहित समाजवादीले स्थानीय तहमा पर्वत जिल्लामा विद्रोह गरेको थियो । तत्कालीन गठबन्धनले माधव नेपालको पाटी समाजवादीलाई एउटा वडा अध्यक्षमा पनि सहयोग गरेको थिएन् । पालिकाहरुको पदाधिकारीमा समेत शून्य सहभागीतामा राखेको समाजवादीले अहिले भने प्रदेश सभाकै सिटमा दावी गरेपछि कांग्रेस भित्र चरम असन्तुष्टि शुरु भएको छ ।
विकास निर्माणको मुख्य मेरुढण्डको रुपमा रहेको प्रदेश सरकारमा जिल्लाकै प्रत्यक्ष निर्वाचित सांसदको अनुपस्थित हुने निश्चित हुने भएपछि कांग्रेसले भने समाजवादीलाई गठबन्धनमा भोट लिने तर सिट नदिने पुरानै नीति अगाडि बढाउने रणनीतिमा छ ।
समाजवादीले प्रदेश सभा २ मा गठबन्धनको सिट पाए देखि पाटीका नेता मोती पौडेललाई अगाडि बढाउने नीतिमा छ । पौडेल यस अघि पनि एमालेबाट सांसदको निर्वाचनमा उमेदवार बनी पराजय भोगेका नेता हुन् ।
उता, माओवादी केन्द्रले भने आफूले प्रदेश सभा १ पाउने निश्चित भएको बताउँदै आएको छ । प्रदेश सभा १ मय माओवादीको तर्फबाट गुप्त हमाल र सुदीप कुँवरको दावी छ । दुई नेता मध्ये एक जना प्रदेश सभा निर्वाचनमा उमेदवार बन्ने माओवादी श्रोतको भनाई छ ।
उता, कांग्रेस भित्र भने प्रदेश सभामा आफ्नो उमेदवार उठाउन नपाउने भए त्यसले बिद्रोहको रुप लिने भन्दै नेताहरुले नेतृत्वलाई दवाब दिदै आइरहेका छन् । कांग्रेस भित्र पुराना नेताहरुले अव नेतृत्व हस्तान्तरण गर्नुपर्ने समेत माग उठिरहेको छ ।
हिजो मात्रै एक अनलाईन टेलिभिजनमा अन्तरवार्ता दिदै कांग्रेस प्रदेश कमिटिका सदस्य, कांग्रेस नेता यामबहादुर मल्लले एउटै नेताले ५ पटकसम्म निर्वाचन लड्ने कुरा आफूहरुका लागि स्विकार योग्य नरहेको उल्लेख गरेका छन् । उनले नयाँले अवसर पाउने कुरामा सिण्डिकेट लगाएर नेताहरु पटक पटक दोहोरिने कुरा कार्यकर्तालाई सह्य नहुने उल्लेख गरेका छन् ।
कांग्रेस भित्र पछिल्लो समय संस्थापन धार अर्थात देउवा समूहमा पनि पर्वतमा दुई धार संघर्ष रहेको छ । जोशी समूहको नाउँमा पूर्व केन्द्रिय सदस्य अर्जुन जोशीले संस्थापन धारको नेतृत्व गरीरहेका छन् । उता, देउवाको पुरानो प्रजातान्त्रिक कांग्रेसका नेता नवराज गुरुङले संस्थापन लाइकै अर्को तर्फ नेतृत्व गरीरहेका छन् । जिल्ला सभापतिका उपविजेता समेत रहेका यामबहादुर मल्ल समेत संस्थापन लाइनकै नेता भए पनि पछिल्लो समय जिल्लामा संस्थापन लाईनको नाउँमा नेताहरु माथि नै दमन र अत्याचार भएको भन्दै त्यसको विरुद्धमा आवाज उठाउँदै आएका छन् ।
अर्को तर्फ प्रदेश कमिटिका सह महामन्त्री तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको नेतृत्वमा कोइराला गगन समूहका नेताहरुले पर्वत जिल्लामा नेतृत्व गरीरहेका छन् । यो अवस्थामा देउवा समूहमा दुई समूह भएका कारण टिकट वितरणमा विद्रोही समूहले टिकटको आश गरीरहेको छ भने कोइराला गगन समूहले पनि कम्तिमा १ सिट आफूले पाउने माग गरीरहेको छ । कांग्रेस भित्रको ३ धार भित्र टिकट मिलाउँन नसक्दा कांग्रेस भित्र विद्रोह हुने निश्चित जस्तै छ । यस बेलामा प्रदेश सभाका २ सिट नै बामपन्थी पाटीले पाउने अवस्था सृजना भएमा त्यसले कांग्रेस भित्र असन्तुष्टि स्वर उच्च हुने संकेत देखिएको छ ।
उता, बामपन्थी दुई पाटीहरु माओवादी र समाजवादीले भने कांग्रेसकै मतले आफूहरुले निर्वाचन जित्नका लागि दुवै प्रदेश सभामा दावी प्रस्तुत गरीरहेका छन् । केहि दिनमा टुंगो लाग्ने सिट बाँडफाँडको मोडलमा नेतृत्वले के निर्णय गर्छ त्यसका आधारमा पर्वत जिल्लाको निर्वाचन प्रभावित हुने देखिन्छ ।




