२३ फागुन,काठमाण्डौं । नेपाल पत्रकार महासंघको ४३ वटा जिल्ला शाखाहरुको चुनावी परिणाम आएको छ । सुदुरपश्चिमका केही जिल्लामा आज सोमबार निर्वाचन हुँदैछ । काठमाडौ, भक्तपुर, ललितपुर, प्रतिष्ठान र एशोसिएटको चुनाव हुन बाँकी छ । करिब १४ जिल्लामा सदस्यता विवादका कारण निर्वाचन हुन बाँकी छ ।
सोमबार बिहानसम्मको परिणामअनुसार एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी अगाडि देखिएको छ । चौतारीले २४ जिल्लामा अध्यक्ष जितेको छ । नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियनले १३ जिल्लामा जिल्ला अध्यक्ष जितेको छ ।
त्यस्तै माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरले ४ वटा जिल्लामा अध्यक्ष जितेको छ । डा।बाबुराम भट्टराईनिकट प्रेस सोसाइटीले एउटा जिल्लामा अध्यक्ष जितेको छ । रुकुममा गणेश चिन्तनले नयाँ शक्तिबाट महासंघको अध्यक्ष हात पारेका छन् । त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय प्रेस फोरमले ओखलढुंगामा शाखा अध्यक्ष जितेको छ । त्यहाँ दीपेन्द्र रुम्दाली अध्यक्ष बनेका छन् ।
सदस्यता विवादका कारण १४ जिल्लामा निर्वाचन स्थगित भएको छ । मनाङ र मुस्ताङमा मौसमका कारण निर्वाचन हुन सकेको छैन । बाजुरा, बझाङ, बैतडी डडेलधुरा र कञ्चनपुर लगायतका जिल्लाको नतिजा आउनेक्रममा छ । सोमबार यी जिल्लामा अधिवेशन भइराखेको छ ।
यसैगरी, त्रिभुवन विश्वविद्यालयले बुधबार सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । त्रिविका अनुसार निर्वाचन भएका २५१ वटा क्याम्पसको मतपरिणाममा एमाले निकट अनेरास्ववियु पहिलो स्थानमा छ ।
मतपरिणामअनुसार हालसम्म अनेरास्ववियुले आंगिक क्याम्पस अन्तर्गत ९ वटा क्याम्पस र सामुदायिक क्याम्पस अन्तर्गत ९९ गरी १०८ क्याम्पसमा बिजय हासिल गरेको छ ।
त्यस्तै नेपाल विद्यार्थी संघले आंगिक क्याम्पस अन्तर्गत ८ र सामुदायिक क्याम्पस अन्तर्गत ७७ गरी ८५ क्याम्पसमा विजय हासिल गरेको मतपरिणामले देखाएको छ । यससँगै नेविसंघ दोस्रो स्थानमा छ ।
त्यस्तै अखिल (क्रान्तिकारी)ले ४ आंगिक क्याम्पस र ४६ सामुदायिक क्याम्पसगरी ५० स्थानमा आफ्नो जित सुनिश्चित गरेको छ ।अन्य संगठनहरुमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ ३, नेपाल क्रन्तिकारी बिद्यार्थी संघ १, संघीय समाजबादी १, विप्लव १, नयाँ शक्ति १, अखिल छैटौं १ स्थानमा बिजयी भएका छन् ।
यसैगरी, नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आज मोरङ र सुनसरीमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएका छन् । हिजो झापाको दमकमा बास बसेको अभियानको केन्द्रीय टोली विहान त्यहाँबाट हिँड्दा बाटोमा फूलमाला र अबिरले स्वागत गर्नुका साथै सडक किनारामा लामबद्ध भएका हजारौँ जनताले ताली बजाएर ऐक्यबद्धता जनाएका थिए । सडकमा ‘क्याराभान’ शैलीमा जनताहरु लामबद्ध भएका थिए ।
मोरङको विराट चोकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन नेकपा (एमाले) को मात्र माग नभएर सिंगो राष्ट्र र नेपाली जनताको माग भएको उल्लेख गरे । उनले भने, ‘यो चुनाव प्रचार अभियान होइन, भ्रम तोड्न राष्टिय अभियान चलाएका छौँ । हामीले मधेसमा संविधानका बारेमा बोल्यौँ भने आफ्नो भ्रमको खेती सकिन्छ भनेर अवरोध खडा गर्न खोजिएको छ । तर, नेकपा (एमाले) लाई मुलुकका कुनै पनि भूभागमा जानबाट कसैले रोक्न सक्दैन ।’ यो संविधान नेपाली जनताले आफ्ना लागि आफैँ बनाएका भएकोले कसैलाई चिन्ता नगर्न चेतावनी दिए । उनले नेकपा (एमाले) सत्ताका लागि आफ्ना मान्यताहरुलाई तिलाञ्जली दिने पार्टी नभएको बताए । उनले भने, ‘हाम्रा लागि राष्ट्र सबभन्दा ठूलो छ ।’
कार्यक्रममा बोल्दै उपाध्यक्ष भीमबहादुर रावलले ५ वर्ष ८ महिना लगाएर संविधान बनाउँदा पपनि रातारात बनाइएको, सबैको सहभागिता नभएको भन्ने जस्ता गलत प्रचार गरिएको भन्दै तथ्यांकमा हेर्न आग्रह गरे । ९० प्रतिशत जनताका प्रतिनिधि, मधेसी, जनजाति, महिला, मुस्लिम, थारु, दलितको ठूलो हिस्साले समर्थन गरेकाले यसलाई केही सीमित मानिसले पूर्वाग्रहपूर्ण रुपमा गलत प्रचार गरेको बताए । उनले भने, ‘हाम्रो चुनौती छ– विश्वमा यति समावेशी, समानुपातिक र पहिचान झल्काउने संविधान कुन देशमा छ ?’
स्थायी समिति सदस्य सुवास नेम्वाङले नेकपा (एमाले) लाई मधेस र जनजाति विरोधी भनेर जति चर्को प्रचार गर्न खोजिए पनि त्यो तथ्यमा आधारित नभएको बताए । उनले भने, ‘हामीलाई मधेस र जनजाति बहुल क्षेत्रका जनताले सधैँ माया गरिरहेका छन् । ती ठाउँबाट हाम्रो पार्टी विजयी हुँदै आएको छ । बरु, मधेसमा आफूलाई मधेसवादी भन्ने र जनजाति बहुल क्षेत्रमा जनजातिवादी भन्नेहरु नै पराजित भएका छन् ।’
हेर्नुहोस् फोटो फिचर मधेसमा एमाले






प्रतिकृया दिनुहोस्