१५ फागुन, पर्वत । लोककवि अलिमियाँको सम्झनामा स्थापना गरिएको अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष पर्वतका कलाकार युवराज भुसाल र बर्ष सम्मान समाजसेवी मानकुमारी गिरी शालिग्राम गिरीलाई प्रदान गरेको छ ।
प्रतिष्ठानले सदरमुकाम कुश्मा बजारमा एक कार्यक्रमको आयोजना गरी भुषाल र गिरी दम्पतिलाई पुरस्कृत तथा सम्मानीत गरेको हो । प्रतिष्ठानको २० लाख नगद राशीको पुरस्कार गायक भुषालले प्राप्त गरेका थिए भने गिरी दम्पतिलाई सम्मान पत्र र ओसल्ला ओढाइएको थियो ।
स्व. अलिमियाँका छोरा हनिफ मियाँले स्थापना गरेको उक्त सम्मान, ग्रामीण भेगमा गाइने लोकभाकाको जगेर्ना गरेको भन्दै कलाकार भुसाललाई प्रदान गरिएको कलाकार छनोट समितिका संयोजक तुलसी प्रवासले जानकारी दिए । यसैगरी ३ दशक देखि सामाजिक सेवामा सक्रिय पर्वतको कुश्मा निवासी गिरी दम्पतिले सामाजिक कार्यको क्षेत्रमा पुराएको योगदानको कदर स्वरुप उक्त सम्मान प्रदान गरिएको हो ।
वि.सं. २०५९ सालमा स्थापना गरिएको अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानले हरेक वर्ष लोकभाका संरक्षणको क्षेत्रमा योगदान र्पुयाउने एक जनालाई सम्मान गर्दै आएको छ । यो पुरस्कार स्व. अलिमियाँको जन्मदिनको अवसर पारी फागुन १५ गते प्रदान हुने गरेको छ । पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा पुरस्कृत तथा सम्मानीत ब्यक्तिहरुको विषयमा शंकर गिरीले प्रष्ट पारेका थिए भने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष एवम् अलिमियाँका छोरा हनिफ मियाँले गरेका थिए । कार्यक्रममा विभिन्न साहित्यीक श्रष्टाहरुले सम्मानीत हुनेहरुलाई बधाई तथा अलिमियाँको लोक कलाकारीताको क्षेत्रको योगदानका विषयमा चर्चा गरेका थिए ।






प्रतिकृया दिनुहोस्