१५ फागुन, मुस्ताङ । मुस्ताङको सदरमुकाम जोमसोम स्थित पुथाङ एयरपोर्टमा शुक्रवार राति अज्ञात समुहव्दारा पार्किङ गरिएका बस तोडफोड भएका छन् ।
धौलागिरी यातायात बस व्यवसायी संचालक समितिको बा ३ ख ९६७४ नम्बरको घोडाघोडी डिलक्स, ग १ ख ५७४९ नम्बरको रोडवेज ट्राभल्स र म्याग्दी जीप तथा बस व्यवसायी समितिको ना ५ ख १०३९ नम्बरको जेनिका एक्सप्रेस बस तोडफोड भएको हो ।
सो समुहले बसको अगाडीको मुख्य सिसा फुटाएको छ । म्याग्दी जीप तथा बस व्यवसायी समितिका अनुसार बस तोडफोड हुँदा करिब एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको बताईएको छ ।
कसले घटना घटाएको हो त्यसको छानविन भैरहेकाले छिट्टै नै सत्य तथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्ने प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताए ।
धौलागिरी यातायात बस व्यवसायी संचालक समितिले गत माघ ५ गते देखि मुस्ताङबाट देशका विभिन्न स्थानमा यातायात सेवा प्रवाह गरिरहेको र म्याग्दी जीप तथा बस व्यवसायी समितिले आफ्नो छुट्टै काउण्टर स्थापना गरी सेवा संचालन गर्न लागिरहेको अवस्थामा तोडफोडको घटना घटेको हो ।





प्रतिकृया दिनुहोस्