११ असाेज, पर्वत । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा आइतबार आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। कालीगण्डकी नदीको उच्च बहावका कारण फर्से क्षेत्रमा मात्रै ६६ वटा घर बगाएको र थप २३ घर जोखिममा रहेको स्थानीयले बताएका छन्।
स्थानीय गंगाबहादुर क्षेत्रीका अनुसार बाढीका कारण ६६ घर बगिसकेका छन् भने २३ घर उच्च जोखिममा छन्। नदीको बहाव अझै बढेमा थप घर तथा संरचनामा क्षति पुग्न सक्ने अवस्था रहेको छ।
बाढीले मालढुंगास्थित कालीगण्डकी पुलमा समेत क्षति पुर्याएको छ भने फर्सेको झोलुङ्गे पुलसमेत बगाएको छ। नदी आसपासका बस्तीमा बाढी र कटानका कारण त्रास बढेको छ।
स्थानीयका अनुसार आज कालीगण्डकी नदीमा आएको पानीको सतह करिब एक सय वर्षयताकै उच्चमध्ये एक रहेको बताइएको छ। नदीको अस्वाभाविक उच्च बहावका कारण तटीय क्षेत्रका बासिन्दा थप जोखिममा परेका छन्।
बाढीबाट प्रभावित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा थप क्षति रोक्न तत्काल उद्धार र व्यवस्थापनको आवश्यकता देखिएको छ।




