Print

पर्वतकाे जलजलामा नदी कटान तीव्र, ५ घर बगे, १०० भन्दा बढी घर जोखिममा

११ असाेज, पर्वत । निरन्तरको वर्षासँगै नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका–८ मा नदी कटान तीव्र बनेको छ। कटानका कारण हालसम्म ५ वटा घर पूर्णरूपमा बगिसकेका छन् भने तटीय क्षेत्रमा रहेका १०० भन्दा बढी घर जोखिममा परेका छन्।

जलजला–८ का वडा अध्यक्ष हरिविकास जिसीका अनुसार नदीको पानीको बहावले बस्तीको पछाडिपट्टिको भागमा तीव्र कटान गरिरहेको छ। उहाँका अनुसार पानीको बहाव केही घण्टा मात्रै नरोकिए घरहरु सहित शिव माध्यमिक विद्यालयसमेत बग्ने जोखिममा रहेको छ।

वडा अध्यक्ष जिसीले भन्नुभयो, “नदीको निरन्तर कटानका कारण अहिलेसम्म ५ वटा घर पूर्णरूपमा बगिसकेका छन्। तटीय क्षेत्रमा रहेका १०० भन्दा बढी घरको पछाडिको भागमा पानीले कटान सुरु गरेको छ। केही घण्टा मात्रै पानी नरोकिए तस्बिरमा देखिएका सबै घर र शिव माध्यमिक विद्यालयसमेत बग्ने अवस्थामा पुगेका छन्।” उनले तटिय क्षेत्रकाे तस्बिर समेत शेयर गरेका छन् ।

जोखिममा रहेका घरपरिवारहरू सुरक्षित स्थानमा बसिरहेका छन्। थप मानवीय तथा भौतिक क्षति हुन नदिन सम्बन्धित निकायले तत्काल उद्धार, सुरक्षित स्थानान्तरण तथा नदी नियन्त्रणका लागि आवश्यक पहल गर्नुपर्ने अवस्था देखिएको छ।