Print

पर्वत कांग्रेसमा नियमित महाधिवेशन पक्षधरको ६ सदस्यीय समिति गठन

२८ भदौं पर्वत । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नियमित प्रक्रियाबाट हुनुपर्ने पक्षमा पर्वतमा ६ सदस्यीय समिति गठन गरिएको छ।

नियमित महाधिवेशनको पक्षमा रहेका कांग्रेस नेता तथा कार्यकर्ताको भेलाले रामकृष्ण मल्लको संयोजकत्वमा समिति गठन गरेको हो। समितिको सदस्यमा मोहन आचार्य, सन्तोष हमाल, इन्दु शर्मा, आरसी पौडेल र आरके पौडेल रहेका छन्।

पार्टीभित्र १५औँ महाधिवेशनलाई लिएर विभिन्न धार देखिएका बेला पर्वतमा नियमित महाधिवेशनको पक्षमा संगठित रूपमा गतिविधि अघि बढाइएको हो। कांग्रेसमा महाधिवेशनको मिति र प्रक्रियालाई लिएर दुई धारमा बहस चलिरहेको छ।

नवगठित समितिले अब जिल्लाका विभिन्न पालिका हुँदै वडा तथा तल्लो तहसम्म समिति विस्तार गर्ने जनाएको छ। नियमित महाधिवेशनका पक्षमा नेता तथा कार्यकर्तालाई एकत्रित गर्दै महाधिवेशनलाई निर्धारित र नियमित प्रक्रियाबाट सम्पन्न गर्न आवश्यक पहल गर्ने समितिको तयारी छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तय गरिएको छ।

पर्वतमा गठन भएको समितिले नियमित महाधिवेशनको पक्षमा जिल्लाभर अभियान सञ्चालन गर्ने र तल्लो तहसम्म संगठन विस्तार गर्दै अघि बढ्ने जनाएको छ।