३० भदाैं, पर्वत । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र ‘ख’ क्षेत्रीय कार्यसमिति पर्वतका सभापति परविन गुरुङले पार्टीको १५औँ महाधिवेशनमा सक्रिय र उत्साहजनक सहभागिताका लागि सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
गुरुङद्वारा जारी अपिलमा नेपाली कांग्रेसको विधानअनुसार आगामी असोज ३ गतेदेखि सुरु हुने १५औँ ऐतिहासिक महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा, उत्साह र नेतृत्व चयनको महत्वपूर्ण अवसर प्रदान गर्ने उल्लेख गरिएको छ। लोकतन्त्रको रक्षा, समावेशी विकास र समृद्धिका लागि कांग्रेसले खेलेको अग्रणी भूमिकालाई थप सशक्त बनाउन महाधिवेशन महत्वपूर्ण रहेको अपिलमा जनाइएको छ।
केंद्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मका सबै प्रक्रिया अनुशासित र मर्यादित ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ।
कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन, असोज १० गते प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुने जनाइएको छ।
सभापति गुरुङले प्रदेश सभा क्षेत्र ‘ख’ अन्तर्गतका सबै वडा, पालिका तथा क्षेत्रीय तहका नेता, कार्यकर्ता, शुभेच्छुक र लोकतन्त्रप्रेमीलाई महाधिवेशनमा सक्रिय सहभागिता जनाउन हार्दिक अपिल गरेका छन्।




