२७ भदाैं, पर्वत । कुश्मा नगरपालिकामा कडा रोगबाट पीडित बिरामीमध्ये करिब ७० प्रतिशत क्यान्सरका बिरामी रहेको स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले बताएका छन्।
कुश्मा नगरपालिकामा मानव शरीरमा हुने क्यान्सरको जोखिम न्यूनीकरण तथा रोकथामका लागि एचपिभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै शर्माले नगरपालिकामा कडा रोगका बिरामीको अवस्थाबारे जानकारी दिएका हुन्। उनले क्यान्सरको जोखिम न्यूनीकरणका लागि समयमै सचेतना, परीक्षण तथा रोकथामका उपाय अपनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले क्यान्सरलगायतका गम्भीर रोगको रोकथामका लागि जनस्तरसम्म स्वास्थ्यसम्बन्धी सचेतना पुर्याउनुपर्ने बताए। उनले एचपिभी खोपको महत्वबारे समुदायमा सही जानकारी पुर्याउन स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा नगर उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक ईश्वर गिरी, नगर प्रवक्ता लालकृष्ण बास्तोलालगायतको सहभागिता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख तथा कर्मचारी, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा एचपिभी खोपको आवश्यकता, यसको प्रभावकारिता, लक्षित समूह तथा खोपसम्बन्धी समुदायमा फैलिन सक्ने भ्रम र त्यसको निराकरणका विषयमा जानकारी गराइएको थियो।




