२६ भदाैं, पर्वत । कुश्मा नगरपालिकामा यस वर्ष २७९ जनालाई एचपिभी खोप लगाइने भएको छ। पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणका लागि लक्षित समूहलाई एचपिभी खोप लगाउन लागिएको हो।
कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको एचपिभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले नगरपालिकामा कडा रोगका बिरामीमध्ये करिब ७० प्रतिशत क्यान्सरका बिरामी रहेको जानकारी दिए। उनले क्यान्सरको जोखिम न्यूनीकरणका लागि रोकथाम तथा समयमै स्वास्थ्य परीक्षणमा जोड दिनुपर्ने बताए।
कार्यक्रममा नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल र प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले मन्तव्य राखेका थिए। उनीहरूले एचपिभी खोपको प्रभावकारिता र क्यान्सर रोकथाममा यसको महत्वबारे समुदायस्तरमा सचेतना आवश्यक रहेको बताए।
कार्यक्रममा वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक ईश्वर गिरी, नगर प्रवक्ता लालकृष्ण बास्तोलालगायत जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सहभागिता थियो।
कार्यक्रममा स्वास्थ्य अधिकृत दुर्गा सापकोटाले स्वागत मन्तव्य राखेकी थिइन् भने स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले कार्यक्रम सञ्चालन गरेका थिए।




