९ साउन, पर्वत । मध्यपहाडी लोकमार्गको स्तरोउन्नतीसंगै सडक चौडा भएको छ । सिंगल लेनको सडकलाई डबल लेनको बनाएसंगै यात्रा सहज भएको छ भने दुर्घटनाको दर पनि बढिरहेको छ । पछिल्लो १ बर्षकै तथ्यांकलाई आधार बनाउने हो भने पनि सडक दुर्घटनाको दर उच्च देखिन्छ । मध्यपहाडी लोकमार्गको पोखरा देखि कुश्मा हुँदै बागलुङसम्मको खण्डको स्तरोउन्नती सकिएको छ । केहि मोटरेवल पुलको काम भने बाँकी छ ।
पर्वतको कुश्मा नगरपालिका हुँदै जाने मध्यपहाडी लोकमार्गको कुश्मा १ अर्मादीमा भने पछिल्लो २ महिना नपुग्दै एक स्थानमा २ ठूला मोटरसाइकल दुर्घटना भएका छन् । गत जेठ २० गते भएको दुर्घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका थिए । त्यसको २ महिना नपुग्दै साउन ८ गते (शुक्रबार) भएको सडक दुर्घटनामा थप २ जना घाईते भएका छन् ।
सडक चौडा भएसंगै सवारीहरुको गतिमा अत्याधिक बृद्धि हुदाँ सवारी दुर्घटनामा बृद्धि भएको प्रहरीको प्रारम्भिक अनुमान छ । अर्मादी खण्डको घुम्तिमा सडक सामाग्रीहरु पुरा गर्न सडकलाई मापढण्ड भन्दा चौडा बनाइएको छ । चौडा बनाएको घुम्ति सडकमा सवारीहरुले अत्याधिक गतिमा सवारी चलाउने गरेको ट्राफिक कार्यालयको अनुभव छ ।
एकै स्थानमा बारम्बार दुर्घटना भईरहँदा त्यसको न्यूनिकरणका लागि प्रहरीले सवारी चेकजाँच तथा दुर्घटनाग्रस्त स्थलहरु न्यूनिकरणका उपायहरु अपनाउनुपर्ने भएको छ ।




