Print

कालीगण्डकी करीडोरको मालढुंगा–वेनी खण्ड बर्षातमा जोखिमपूर्ण

९ साउन, पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको मालढुंगा–बेनी सडक खण्ड हरेक वर्ष वर्षायाम सुरु भएसँगै सबैभन्दा जोखिमपूर्ण सडकमध्ये एक बन्ने गरेको छ। कालीगण्डकी नदीको भीरालो किनार हुँदै निर्माण गरिएको यो सडक प्राकृतिक रूपमा कमजोर भू–बनोट, भिरालो पहाड, कमजोर चट्टान तथा निरन्तर भइरहने वर्षाका कारण बारम्बार पहिरोको चपेटामा पर्दै आएको छ।

यो सडक खण्ड केवल पर्वत र म्याग्दीलाई जोड्ने सडक मात्र होइन। मुस्ताङको जोमसोम, कोरला नाका हुँदै चीनसँगको व्यापारिक सम्भावना जोड्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको मार्ग पनि हो। यही सडक भएर मुस्ताङ, म्याग्दी, पर्वत र उत्तरी बागलुङका बासिन्दाले दैनिक आवतजावत गर्ने गरेका छन्। उत्तर र दक्षिणी क्षेत्रका दुई ठूला देशलाई जोड्ने करीडोरको या सडकलाई राष्ट्रिय गौरबको आयोजना मानिन्ज्छ ।

मालढुंगा–बेनी सडकमा हरेक वर्ष वर्षायाममा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ। २०७९ असार महिनामा निरन्तर वर्षापछि मालढुंगा नजिकै ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको थियो। सयौं सवारीसाधन मालढुंगा र खानियाघाट क्षेत्रमा रोकिएका थिए भने मुस्ताङ र म्याग्दी जाने–आउने यात्रु घण्टौं अलपत्र परेका थिए।
त्यसयता पनि प्रत्येक वर्ष वर्षा सुरु भएसँगै साना–ठूला पहिरो खस्ने, सडक घण्टौंदेखि दिनौंसम्म बन्द हुने क्रम दोहोरिँदै आएको छ। निर्माणाधीन अवस्थामा सडक फराकिलो पार्ने कार्य भइरहेका कारण कतिपय स्थान अझ संवेदनशील बनेका छन्।

सरकारले मालढुंगा–बेनी सडकलाई ११ मिटर चौडाइमा विस्तार गरी कालोपत्रे गर्ने काम अघि बढाएको छ। धेरै स्थानमा कालोपत्रे सम्पन्न भइसकेको छ । सडक खण्डको बेनी बजारको केहि भागमा सडक चौडा गर्ने विषयमो विवादका कारण अहिले स्थगीत छ । बाँकी खण्डको काम सकिएको छ । सडक चौडा भएपछि यात्रा सहज भए पनि बर्षातको समयमा भने पहिरोको जोखिम अझै देखिन्छ ।
शुक्रबार मात्रै सडक खण्डको जलजला ८ फर्केमा पहिरो जाँदा एउटा मोटरसाइकल पुरिएको छ । पहिरोमा परी एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

मालढुंगाबाट बेनीतर्फ जाँदै गरेको लु ४१ प २१५७ नम्बरको मोटरसाइकलमाथि माथिबाट खसेको पहिरोले पुरिँदा चालक जलजला गाउँपालिका–४ लामाखेत निवासी ४२ वर्षीय लालबहादुर सुबेदी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

कभर तस्विर : सुरेश हमाल