Print

मोदी गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

Writing

३२ असार, पर्वत। मोदी गाउँपालिकाले आर्थिक वर्षको सेवा प्रवाह, विकास निर्माण र सुशासनका विषयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।


कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक क्षेत्र, युवा तथा विभिन्न सरोकारवाला क्षेत्रको प्रतिनिधित्व गर्ने १४ जनाले स्थानीय समस्या, जिज्ञासा, सुझाव र गुनासाहरू प्रस्तुत गरेका थिए।

सहभागीहरूले विशेषगरी सडक, खानेपानी, भवन तथा अन्य भौतिक पूर्वाधार निर्माणको गुणस्तर, योजना कार्यान्वयन, बजेट व्यवस्थापन र सेवा प्रवाहलाई केन्द्रमा राखेर प्रश्न तथा सुझाव दिएका थिए।


उठाइएका जिज्ञासा र प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष विमल लामिछाने तथा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले दिएका थिए। उहाँहरूले नागरिकबाट प्राप्त सुझावलाई आगामी योजना तथा सेवा प्रवाहमा समेट्दै थप प्रभावकारी र उत्तरदायी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रममा गाउँपालिकाको प्रगति प्रतिवेदन तथा सार्वजनिक सुनुवाइको उद्देश्यबारे प्रशासकीय अधिकृत विकास केसीले प्रकाश पार्नुभएको थियो। उहाँले चालु आर्थिक वर्षमा सम्पन्न भएका प्रमुख कार्यक्रम, विकास निर्माणका उपलब्धि तथा आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो।


सार्वजनिक सुनुवाइमार्फत नागरिकका गुनासा, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा सुन्ने अवसर प्राप्त भएको भन्दै गाउँपालिकाले यस्ता कार्यक्रमले स्थानीय सरकारप्रति जनविश्वास अभिवृद्धि गर्नुका साथै पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।


कार्यक्रमको सञ्चालन पत्रकार गणेश गिरीले गर्नुभएको थियो।