Print

पर्वतको दोबिल्ला–फलेवास सडकमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु


साउन, पर्वत । पर्वतको कुश्मा नगरपालिका–९ एकोहोरेपाठास्थित दोबिल्ला–फलेवास सडक खण्डमा शुक्रबार दिउँसो करिब २:३० बजे ग १ त ७२७३ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा कुश्मा नगरपालिका–७ निवासी अन्दाजी २८ वर्षीय सुजन नेपाली र ट्याक्टरमा सवार कुश्मा नगरपालिका–९ साइकलचोक निवासी अन्दाजी १४ वर्षीय शिशिर लामिछाने गम्भीर घाइते भएका थिए।

घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कुश्मा पुर्‍याइएकोमा चिकित्सकले अपराह्न ४:२० बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। दुर्घटनामा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने २२ वर्षीय उदय सापकोटा दुवै खुट्टामा चोट लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा १२ जना तथा सशस्त्र प्रहरी बलबाट सशस्त्र प्रहरी निरीक्षक पर्वतराज खड्काको कमाण्डमा १५ जनाको उद्धार टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।