वडा समितिको निर्णय गाउँपालिकालाई, नागरिकको समय र खर्च बचाउन प्रशासनिक सेवा पुनः जिल्ला प्रशासन कार्यालयमै फर्काउन आग्रह
३० असार , पर्वत । महाशिला गाउँपालिका–५ को निर्वाचित वडा समितिले नागरिकलाई प्रदान गरिने प्रशासनिक सेवा इलाका प्रशासन कार्यालय, हुवासबाट नभई जिल्ला प्रशासन कार्यालय, पर्वतबाटै उपलब्ध गराउने व्यवस्था मिलाउन गाउँपालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ।
वडा समितिको हालै बसेको बैठकले प्रशासनिक सेवा सम्बन्धी प्रस्ताव पारित गर्दै उक्त सिफारिस गरेको हो। निर्णयमा नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका प्रशासनिक सेवा लिन इलाका प्रशासन कार्यालय, हुवास पुग्नुपर्दा अनावश्यक सास्ती, अतिरिक्त समय र आर्थिक भार व्यहोर्नुपरेको उल्लेख गरिएको छ।
निर्णयमा महाशिला गाउँपालिका–५ का अधिकांश नागरिकको सहज पहुँच जिल्ला प्रशासन कार्यालय, पर्वतसँग रहेको, हुवास पुग्न यातायात असुविधा, बढी दूरी र अतिरिक्त खर्च लाग्ने भएकाले नागरिकमैत्री सेवा प्रवाहका लागि सेवा पुनः जिल्ला प्रशासन कार्यालयबाटै उपलब्ध गराउन आवश्यक रहेको औँल्याइएको छ।
वडा समितिले उक्त निर्णय कार्यान्वयनका लागि गाउँपालिकाले आवश्यक पहल गरी सम्बन्धित निकायमा सिफारिस पठाउन समेत आग्रह गरेको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय, पर्वतबाट प्रवाह हुँदै आएका केही प्रशासनिक सेवा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालय, हुवास मार्फत उपलब्ध गराउन थालिएको थियो। हुवासस्थित इलाका प्रशासन कार्यालयले पर्वतका केही स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा उपलब्ध गराउँदै आएको छ।
महाशिला–५ का स्थानीयवासीले सेवा केन्द्र परिवर्तनपछि नागरिकले झन्झट, लामो यात्रा र थप खर्च बेहोर्नुपरेको गुनासो गर्दै आएका छन्। वडा समितिको पछिल्लो निर्णयले नागरिकको यही मागलाई औपचारिक रूपमा उठाएको देखिन्छ। अब गाउँपालिकाले यस विषयमा के निर्णय गर्छ र सम्बन्धित निकायले कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयलाई स्थानीयले चासोका साथ हेरेका छन्।




