Print

पत्रकार सम्मेलन गर्दै कांग्रेस नेता जोशी


२० मंसिर, पर्वत ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् । कांग्रेसले आगामी पौष महिनामा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसंगै जोशीले पत्रकार सम्मेलन गर्न लागेका हुन् । गृह जिल्ला पर्वतको कुश्मामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जोशीले आगामी महाधिवेशनका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएका हुन् । पत्रकार तथा प्रेस युनिएनका केन्द्रिय सदस्य साजन परियारका अनुसार जोशीले आगामी राजनैतिक दिशानिर्देशन तथा महाधिवेशनका प्रमुख एजेण्डाका बारेमा आफ्नो दुलर्भ धारणा सार्वजनिक गर्न लागेका हुन् ।

नेपाली कांग्रेसमा अहिले देखिएका तीन धारको संघर्षमा जोशीले आफूलाई कुन कित्तामा उभ्याउने हुन भन्ने संशय अझै सार्वजनिक भएको छैन् । कांग्रेस श्रोतले पछिल्लो केन्द्रिय कमिटि वैठकमा जोशी थापा पक्षमा खुलेको दाबी गरेका थिए । उता, जोशीले भने देउवा समूहका केन्द्रिय सदस्यहरुको अगुवाई गर्दै अर्लि महाधिवेशनको पक्षमा लबिङ गरीरहेका थिए ।
कांग्रेस भित्र अहिले देउवा, थापा र कोइराला गरी तीन धुव्रमा नेताहरु बाँडिएका छन् । तोकिएको समयमा महाधिवेशन हुने कुरामा थापा पक्षका नेताहरुले शंका गरीरहेको बेलामा शेखर कोइराला, सुजता कोइराला र शशांक कोइराला भने एउटै कित्तामा उभिने सहमती गरीसकेका छन् । आगामी महाधिवेशनमा कोइराला, थापा र देउवा पक्ष वीच प्रतिस्पर्धा हुने निश्चित बनेको छ ।

तत्कालीन अवस्थामा जोशीले १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा ‘गुट’ परिवर्तन गरे । १३ औं महाधिवेशनमा सभापतिको प्रत्याशी रहेका रामचन्द्र पौडेलको निकट मानिएका जोशीले सभापतिमा शेरबहादुर देउवालाई सघाउने निर्णय लिए । १३ औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित त भए तर जोशी केन्द्रीय सदस्यमा पराजित भए ।

पर्वत जिल्लाबाट ३ पटकसम्म प्रत्यक्ष निर्वाचनबाट निर्वाचित जोशीले पौडेल समूह छोडेर देउवा समूहमा लागेपछि भने लगातार पराजय मात्रै भोगेका छन् । गिरिजाप्रसाद कोइराला, सुशिल कोइरालादेखि रामचन्द्र पौडेलसम्मको विश्वासपात्र रहेपनि जोशीले मन्त्री बन्ने अवसर पाएनन् । केन्द्रिय सदस्यमा पराजीत जोशीले १४ औं महाधिवेशनमा गण्डकी प्रदेश समितिको सभापतिको निर्वाचन समेतमा पराजीत बने । २०७९ सालमा कांग्रेस माओवादीको गठनबन्धमा चौथो पटक संघीय सांसदको उमेदवार बनेका जोशी उक्त निर्वाचनमा समेत पराजीत बने ।

३ पटक विभिन्न पदमा पराजीत बनेका जोशीलाई देउवाले वर्तमान केन्द्रिय कमिटिको सदस्य पदमा २०८० असोज महिनामा मनोनित गरे । जोशी अहिले केन्द्रिय कमिटिमा स्थानीय तह समन्वय प्रमुखको जिम्मेवारीमा छन् ।

आगामी महाधिवेशनले कांग्रेसको भावि नेतृत्वको टुंगो लगाउने महत्वपूर्ण समय भएका कारण यतिबेला जोशीले आयोजना गरेको पत्रकार सम्मेलनलाई कांग्रेस कार्यकर्ताहरुले महत्वका साथ हेरेका छन् ।

देउवा, थापा र कोइराला समूह मध्ये जोशीको साथ कस्लाई रहन्छ त्यो विषय अझै उजागर भईसकेको छैन् । जोशीले केन्द्रिय कमिटिको वैठकमा आफू देउवा पुस्ताको सिनियर नेताको रुपमा परिचित गराएको घटनाले उनी पदाधिकारीको दावेदार देखिएका छन् । जोशी कुन समूहबाट आगामी केन्द्रिय कमिटिमा आफूलाई उमेदवार बनाउँछन भन्ने कुराको खुलासा आज हुने पत्रकार सम्मेलनबाट हुने देखिन्छ ।

आगामी माघ महिनामा हुने राष्ट्रिय सभा निर्वाचनमा समेत जोशीले राष्ट्रिय सभा सदस्यको इच्छा ब्यक्त गर्नसक्नेछन् ।